नक्कली प्रमाणपत्र लिएका डाक्टरलाई काममा नलगाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोग लागेका कुनै पनि चिकित्सकलाई विरामीको उपचारमा रोक लगाउन निर्देशन दिएका छन् ।
शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले करिब पचास चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो ।
अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्रीले आज स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीलाई फोन गरी नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने काम तत्काल रोक्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार छानबिनका क्रममा रहेका अयोग्य चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन तथा उनीहरुको प्रमाणपत्र समेत तत्काल निलम्बन गर्नका लागि नेपाल मेडिकल काउन्सिललाई समेत प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् ।
अदालतमा चलिरहेको मुद्दा किनारा नलागेसम्म स्वास्थ्योपचारमा अयोग्य चिकित्सक संलग्न हुने विषय मानवीय स्वास्थ्यसँगको खेलबाड भएकाले त्यसलाई सहन नसकिने प्रधानमन्त्रीको भनाइ थियो । प्र
स्वास्थ्यको विषय सबैभन्दा संवेदनशील रहेकाले अयोग्य चिकित्सकले जाँच गर्ने विषय नै पूर्णतः गैरकानुनी भएकाले त्यसमा ध्यान दिन सचिव उप्रेतीलाई निर्देशन दिइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
स्वास्थ्य सचिव उप्रेतीले पनि प्रधानमन्त्रीले नागरिक स्वास्थ्यका विषयमा चासो राखेको जानकारी दिँदै अयोग्य चिकित्सकको कारबाही प्रक्रिया टुङ्गो नलाग्दासम्म काममा नलगाउने बारे आफूहरु सचेत रहेको बताए ।
उनले प्रधानमन्त्रीले उठाएको चासोमा आफूहरु संवेदनशील रहेको बताउँदै आन्तरिक छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय लिइने प्रतिक्रिया दिए ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गत असार ५ गते ३६ नक्कली चिकित्सक पक्राउ गरेको थियो । तीमध्ये काठमाडौँबाट १३, पर्साबाट, मोरङ र चितवनबाट तीन, ललितपुर र धनुषाबाट दुई दुई, दाङ, कास्की, झापा र सुनसरीबाट एक एक चिकित्सकलाई नक्कली चिकित्सकको अभियोगमा पक्राउ गरेको थियो ।
यस्तै यही साउन २४ गते ललितपुर र काठमाडौँबाट एक एक चिकित्सकलाई सोही अभियोगमा ब्युरोले पक्राउ गरी प्रहरीले विशेष अदालतमा मुद्दा चलाएको छ ।रासस