उर्जामन्त्री शर्मा सहभागी कार्यक्रममा ढुंगामुढा, सम्बोधन नगरी फर्किए
सन्धिखर्कमा आजदेखि शुरु हुन लागेको अर्घाखाँची महोत्सवको उदघाटन सत्रमा ढुंगा प्रहार भएपछि उर्जा मन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले ‘देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुँदैन’ भनेपछि समारोहमा सहभागी केही युवाहरुले ढुगांमुढा गरेका थिए ।
डिलारामको अभिव्यक्तिबाट उत्तेजित भएका स्थानीयले ढुंगामुढा र नाराबाजी गर्न थालेपछि आयोजकले कार्यक्रम नै स्थगित गर्नुपर्यो ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग पार्ने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गरेलगत्तैदेखि अर्घाखाँची लामो समय बन्द भएको थियो भने जिल्लामा क्रियाशिल सबै दल र उद्योग वाणिज्य संघले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका थिए ।
आज महोत्सव उद्घाटन समारोहमा परिस्थिति असहज बन्दै गएपछि उर्जा मन्त्री शर्मालाई प्रहरीले स्कटिंग गरेर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो ।
त्यसपछि माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको बताएका छन् । उनले आफू पनि अर्घाखाँचीबासी भएको र जिल्लाबासीहरु सँग टाढा हुन नसक्ने भन्दै क्षमा याचना गरेपछि परिस्थिति साम्य भएको छ ।
ढुंगा प्रहारबाट अर्घाखाँची डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल सामान्य घाइते भएका छन । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्रिएपछि संभावित प्रदेश सदरमुकाम पोखरा पुग्न सुरुङ मार्ग बनाइदिने भनेदेखि नै स्थिति असहज बन्दै गएको थियो ।
प्रेम आचार्य, अर्घाखाँची