शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको ठूलो भूमिका: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पुर्याउन सफल भएको उल्लेख गरे ।
नेपाल राजनीतिक सङ्क्रमणको अन्तिम चरणमा रहेको भन्दै उनले नेपालको संविधानअनुरुप पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री र प्रेस काउन्सिलका प्रतिनिधि सहभागी थिए ।