वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मणिराज उपाध्यायको गए राति ९४ वर्षको उमेरमा निधन भएको छ ।
करिब दुई सातादेखि गंगालाल अस्पतालमा उपचाररत उपाध्यायको २७ पुस बेलुका निधन भएको हो ।
समाज दैनिकको सम्पादक समेत रहेका उपाध्यायले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गरेका थिए ।
पशुपति आर्यघाटमा आज विहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे ।
महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताए ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए ।
उपाध्यायको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।