रिपोर्टबिहिवार, पौष २८, २०७३

हटेन त्रास

मुकेश पोखरेल

जुरेको पहिरोपछि विस्थापित भएर फेरि सोही ठाउँमा अस्थायी टहरामा फर्केका स्थानीयको बस्ती। तस्वीर: बिक्रम राई

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट विस्थापितमध्ये केही परिवार पुरानै ठाउँमा फर्के पनि त्रासको बीच गाँस र बासको समस्यामा छन्।

राम्चे–५ जुरेका समिर लामाको परिवार दुई वर्ष पाँच महीनापछि पुरानो थातथलो फर्केको छ। १७ साउन २०७१ को मध्यरात जुरेमा पहिरो गइरहेकै बेला सकुशल भाग्न सफल भएका लामा परिवार विस्थापित २५ परिवारमध्ये एक हो। ज्यान मात्र जोगाएर भागेका उनीहरूले बिहान आफ्नो घर रहेको ठाउँ ठम्याउन पनि सकेका थिएनन्। 

त्यसपछि उनीहरू जता सजिलो पर्छ, त्यतै लागेका थिए। तीमध्येकै एक मानबहादुर तामाङ नयाँ ठाउँको दुःख र पुरानो ठाउँको मायाले फर्केको बताउँछन्।

विस्थापित २५ परिवारमध्ये १७ परिवार अझै फर्केका छैनन्। फर्केकाहरू एकैनासका जस्ताका अस्थायी घर बनाएर बसेका छन्। सबैका खेतबारी बगर बनेका छन्। माङ्खा र राम्चेबीचको जुरेमा गएको पहिरोले दुवै गाविसका १४५ जना मानिससहित ९७ घर बगाएको थियो।

न बास न गुजारा
पहिरोअघि समिर लामाको परिवार पाँच रोपनी जग्गाको उब्जनी र जुरे बजारको व्यापारबाट सजिलै धानिएको थियो। मानबहादुर तामाङको परिवार पनि त्यसरी नै चलेको थियो।

अहिले दुवै परिवार समान समस्यामा छ। साँझ्–बिहानको छाक जुटाउनै समस्या परिरहेको मानबहादुर बताउँछन्। विस्थापित सबैले घुमन्ते जीवन बिताएको बताउने मानबहादुरका अनुसार, पहिरोपछि राम्चे–२ कल्लेरीस्थित चन्द्र श्रेष्ठको घरमा बसेका १२ परिवार एक महीनापछि बाह्रबिसे, लामोसाँघुतिर लागेका थिए।

बाह्रबिसे, लामोसाँघुलगायतका बजारका घरमा भाडामा बसेर ज्याला मजदूरी गरेर जहान परिवार पाल्न थालेका उनीहरूलाई १२ वैशाख २०७२ को महाभूकम्पले फेरि सडकमा पुर्‍यायो।

तिनैमध्येकी एक चमेली तामाङ पहिरोको पीडा बिर्सन खोजिरहेको बेला भूकम्पले सडकमै ल्याएपछि पुरानै ठाउँमा फर्केको बताउँछिन्। “सरकारले ढुक्कले बस्न सकिने ठाउँमा सुरक्षित घर बनाउन सहयोग गरे हुनेथियो” चमेली भन्छिन्, “हाम्रो माग धेरै छैन, ठूलो पनि छैन।”

दुई वर्षदेखि यही कुरा भनिरहँदा वास्ता नभएको मानबहादुर बताउँछन्। ढुक्कले बस्न सकिने ठाउँ सरकारले मिलाइदिए बरु जसोतसो आफैं स्थायी बास बनाउने उनले बताए।

उनका अनुसार, पुरानै ठाउँमा सुरक्षित बास बनाउन सकिने अवस्था छैन। जुरेको पहिरोपछि भोटेकोशीले बहाव बदलेर वारि आएको छ। “जेठसम्म त केही नहोला” मानबहादुर भन्छन्, “तर, बर्खामा न वारि न पारि कतै सुरक्षा हुँदैन।”

जुरेका पहिरो पीडितका लागि जिल्ला दैवी प्रकोप उद्दार समिति सिन्धुपाल्चोकले सञ्चालन गरेको विशेष राहत कोषमा देश–विदेशबाट रु.२ करोड २४ लाख जम्मा भएको छ। पहिरो पीडितहरूका लागि त्यस रकमबाट गर्न सकिने काम पनि भएको छैन।

एक्ली मसिना
जुरेको पहिरोमा आफ्नो घर भएको ठाउँ नियाल्दा हरेक पटक २१ वर्षीया मसिना तामाङका आँखा रसाउँछन्। १७ साउन २०७१ को बेलुका दुईमध्ये एक भदा मनोजलाई लिएर दिदी चमेलीको घरमा सुत्न गएकीले उनी बाँचिन्।

घरमै सुतेका उनका बाबु–आमा, दाजु–भाउजू र सानी भदै पहिरोमा परे। भदा मनोज अहिले काठमाडौंमा पढ्छन्। मसिना दिदीसँगै बसेकी छन्। “यो ठाउँ नदेख्दा पनि मन मान्दैन, देख्दा पनि मन रुन्छ”, उनी भन्छिन्।

प्रतिकृया दिनुहोस