समाचारबुधवार, पौष २७, २०७३

सरकारी बिदा पुनरावलोकन हुने (मन्त्रिपरिषद निर्णय)

हिमालखबर


सरकारले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले  राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निर्क्यौल हुने सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । 

मन्त्री केसीको असन्तुष्टि 
शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको बताएका छन् । 

उनले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरेका थिए । 

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श 
बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिए । 

प्राधिकरणमा पोखरेल
त्यस्तै सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । 

आजको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको हो । 

पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उहाँलाई स्पष्टीकरण सोधिएको थियो । 

नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिकृया दिनुहोस