सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेनःओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् ।
आज झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्नेमा त्यसो नगरी संविधान संशोधनको बहानामा मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।
“सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको छ, " ओलीले भने, "निर्वाचन बिना संविधान कार्यान्वयन हुन सक्दैन ।"
उनले संविधान संशोधन विधेयक झुक्याएर संसद्मा दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्याए ।
पूर्वराजा ज्ञानेन्द्रले मङ्गलबार दिएको वक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार मात्र भएको ओलीको टिप्पणी थियो ।
"देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो," उनले भने ।
रासस