विभाजनको राजनीति यहाँ चल्दैनः ओली
एमाले अध्यक्ष केपी ओलीले पहाडबाट तराईलाई अलग गर्ने कुरा असम्भव भएको बताएका छन् ।
“भुगोल, क्षेत्र र जातजाति बीच विभाजन ल्याउने राजनीति यहाँको माटोमा चल्दैन,” पूर्वपश्चिम राजमार्गको दमक चोकमा निर्मित राजधानी बाहिरको पहिलो आकाशे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ।
सत्ता पक्षले मुलुकको राजनीतिमा ‘झिँगे दाउ हान्न खोजेको’ उनको भनाई थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्राविधिक हिसाबले आउँदो चुनावसम्म एमाले सरकारमा नजाने भन्दै ‘त्यसपछि जवर्जस्त रुपमा एमाले आउने’ दाबी गरे ।
दमकमा एक करोड १४ लाखको लागतमा बनेको आकाशे पुलको उचाई साढे ११ मिटर र चौडाई ४ मिटर छ ।
पुलको उदघाटना ओली र कांग्रेस सांसद महेन्द्रकुमारी सुब्बाले संयुक्त रुपमा गरेका थिए ।
२६ पुसमै ओलीले झापाको धरम्पुर चोकदेखि रानामिल जाने पक्की सडक समेत अरु तीनवटा विकास योजनाको पनि शिलन्यास गरेका छन् ।
धरम्पुरको साढे ११ किलोमिटर लामो बहुबर्षे सडक योजनामा सरकारले रु ७ करोड ९० लाख खर्च गर्दैछ ।
दमकको हिमालय माविदेखि मधुमल्लासम्म कालोपत्रे सडक पनि ओलीले शिलन्यास गरेका छन् । ९ किलोमिटर लामो सडकको निर्माण लागत रु १६ करोड ४५ लाख छ ।
त्यस्तै आज अपराह्न ४ बजे दमकको हाइवे—सेतुमारी सडकको पनि उनले दमक १८मा शिलन्यास गरेका छन् । साढे ९ किलोमिटर लामो सो सडकको लागत भने रु ७ करोड ३३ लाख छ ।