प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तारको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाछन् ।
१९ साउन बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिन बित्न लाग्दासमेत मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै आलोचना शुरु भएका बेला प्रधानमन्त्री दाहालले आइतबार विस्तारको तयारी गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भएको भेटवार्तामा पनि राष्ट्रपतिले प्रधानमन्त्री दाहालसँग सरकार विस्तारको विषयमा चासो राखेकि थिइन् ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने तयारी गरिएकाले केही ढिलाइ भएको जानकारी दिए ।
आइतबार नेकपा माओवादी केन्द्रका तर्फबाट पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ ।
प्रम दहालका स्वकीय सचिव मल्लले भने “तयारी गरिएको छ । आइतबार साँझसम्म अरु दलबाट नभए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी गराउन बाँकी रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिन्छ ।”
कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार कांग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ ।
सोही सहमतिअनुसार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि, उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महराले कार्यभार सम्हालिसकेका छन् ।
यस्तै माओवादी केन्द्रका तर्फबाट कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजीत श्रीपाइलीले पनि कार्यभार सम्हालिसकेका छन् ।
माओवादी केन्द्रले मन्त्री छनोटको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहाललाई नै दिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्न आग्रह गरेको छ ।
प्रवक्ता पम्फा भुसालले मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई नै दिइएकाले उनले यस विषयमा आवश्यक निर्णय गर्ने बताइन् ।
माओवादी केन्द्रले ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्रीमा राप्रपाका दीपक बोहोरा, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा सोही दलका विक्रम पाण्डे र नेकपा ९संयुक्त०का जयदेव जोशीलाई जनसङ्ख्या तथा वातावरण मन्त्रीका रुपमा कार्यविभाजन गरिसकेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले केही दिनभित्रै सरकारले पूर्णता पाउने र त्यसको तयारी भइरहेको जानकारी दिए ।