कार्कीमाथि मोसो दल्नेलाई एक महिना कैद
मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई मोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको २५ पुसको संयुक्त इजलासले कार्कीलाई मोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरेको हो ।
अदालतमा मुद्दाको तारिक लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई मोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएको थियो । सर्वोच्चको आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने ।”
मोसो दल्नेद्वयलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो । आदेशमा शाही र बुढाले अदालतको मानहानी हुने मनसायले नभई व्यक्तिलाई मोसो दलेको बयान दिए पनि उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ । रासस