पीडितलाई क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन
काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक विस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै २५ पुसमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।
उपत्यकाका २६ स्थानका पीडित समूहहरुले सो स्थानमा भेला भई संयुक्त रुपमा सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति कानुनले निर्धारण गरेअनुसार उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरेका हुन् । जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१ लागू गर्न र संविधानप्रदत्त बसोबास गर्ने स्वतन्त्रता र आवासको हकको संरक्षण गर्न पीडितले सरकारलाई आग्रह गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागीले अदालतको आदेश पालन गर्नुपर्ने, आवास अधिकारको प्रत्याभूत गर्नुपर्नेलगायत लेखिएका तुल बोकेका थिए ।
समितिका संयोजक सुमन सायमीले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सडक सुधार तथा विस्तार गर्ने नाममा विस्थापित गर्न नहुने र त्यसको विकल्प खोज्नुपर्ने बताए । उनले देशमा पूर्वाधार तथा विकास निर्माण गर्ने क्रममा सम्बन्धित नागरिकले भोगचलन गरिरहेको अचल सम्पत्ति अधिग्रहण गर्दा समयसापेक्ष मुआब्जा दिन माग गरे । रासस