ब्लगसोमवार, पौष २५, २०७३

कठोर परिश्रमको मूल्य शून्य

मीना शर्मा

 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले २४ घण्टामा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भनेको छ । तर हाम्रो ग्रामीण भेगमा काम गर्ने महिलाको दैनिकी हेर्ने हो भने काममै मनोरञ्जन खोज्नु पर्ने अवस्था छ अर्थात मनोरञ्जनको आठ घण्टा पनि काम गर्दैमा बित्ने गर्छ ।

आईएलओले गरेको एक अध्ययन अनुसार घरायसी काममा महिलाको संलग्नाता पुरुषको भन्दा बढी छ । पारिश्रमिक पाउने काममा गणना नहुने सरससफाइ, खाना पकाउने, लुगा धुने, घास–दाउरा ल्याउने, बालबालिका तथा बृद्धबृद्धाको स्याहारसुसार गर्ने, खेतीपातीको काम गर्ने लगायतका काममा पुरुष भन्दा महिला बढी खटिन्छन् । बिहान ५ बजेदेखि राति १० बजेसम्म महिलाले गर्ने यस्ता कामको कतै मुल्याङ्कक भने हुदैन । अर्थात यो कामले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान पु¥याएको छ भन्ने कुरालाई समेट्न सकिएको छैन् ।

बिहानै अध्यारोमा उठेर रातिको अध्यारोसम्ममै काम गर्ने महिलाले काम गरेको समयलाई गणना गर्ने हो भने उनिहरु २४ घण्टामा १६ घण्टा अर्थात दुई दिन बराबरको काम गर्दछन् । घरयासी काम गर्ने महिलाको अवस्था देशभरीनै उस्तै छ । यो अढाई महिनामा म पुगेका सदूरपश्चिम र मध्यपश्चिमका हिमाल, पहाड र तराईका जिल्लाहरु बाजुरा, हुम्ला, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बाँके, दाङ, सल्यान, रुकुम, प्युठान लगायतका गाउँमा महिलाले गरेको काम देख्दै मुटु चिमोट्ने छ । मेसिन जस्तै लाग्छन, कहिल्यै नथाक्ने ।

अन्य ठाउँको अवस्थाको बारेमा आकलन गर्न कठिन हुदैन् । एक दिनमा पाँच सय ज्याला पाउने हो भने पनि एक जना महिलाले दिनमा दोब्बर कमाइ गर्नु पर्ने हो । दैनिक १६ घण्टा गरेको गरेको काममा पुरुषको भन्दा दोब्बर बराबरको राष्ट्रिय अर्थतन्त्रमा योगदान गणना हुनुपर्ने हो । तैपनि यो कठोर परिश्रम तर मूल्य शून्य छ ।

पढाई र वैदेशिक रोजगारीको शिलशिलामा अधिकाँस पुरुष गाउँबाट बाहिरिए पछि पुरुषले गर्ने काम पनि महिलाकै थाप्लोमा आएको छ । पारिश्रमिक नपाए पनि महिलाले गर्ने कामको जिम्मेवारी बढ्दै गएको देखिन्छ । “गाउँमा मजदुर पाउन छाडिसके । आफ्नो अगाडीको खेतवारीलाई सकेसम्म बाँझो राख्न मनले मान्दैन” भन्ने दैलेखकी सरस्वाती योगीका कुराले पनि महिला थप कडा परिश्रम गर्दैछन भन्ने कुरा प्रष्ट पार्छ ।

‘वैदेशिक रोजगारमा गएका पुरुष वा महिलाले यही समयमा विदेशमा कमाएको पैसा रेमिट्यान्सको रुपमा देशमा भित्रिदा अर्थतन्त्रको ठूलो भाग समेटेको छ’ भन्ने गरेपनि त्यही समयमा महिलाले घरमा गरेको त्यही बराबरको कामको कुनै मुल्याङ्न छैन् । अपवाद बाहेक यसरी कडा परिश्रम गर्ने महिलालाई बिरामी हुँदा निर्धक्कसंग उपचार गर्न जाने निर्णय समेत गर्न पाउने अवस्था छैनन् । महिला अधिकारका कुराले केही चेतना आएको त छ तर गरिबिका अगाडी चेतनाले मात्र केही काम नगर्दो रहेछ । काखमा बच्चा र पिठ्यमा मलको डोको बोकेर खेत जादै गरेकी मुगुकी कल्पना सञ्जाल भन्दैथिईन “महिला पुरुष बराबर भनेर के गर्नु रु भैसा भोकै हुँदा, घर फोहोर हुँदा, छाछोरी रुदा श्रीमानले गर्लान भनेर बस्यो भने सबै भोकै मर्छन ।”

पुरुषले पनि घरको काममा सहयोग गर्नुपर्छ भन्ने कुरा महिलालाई होईन पुरुषलाई बुझाउन पर्छ भन्ने उनको भनाईलाई सम्बोधन गर्ने हो भने महिलाले गर्ने कडा कामको बोझ केही हदसम्म भएपनि कम गर्न सकिन्थ्यो । कल्पना मात्र होइनन्, ग्रामीण क्षेत्रका धेरै महिलालाई घरयासी काममा पुरुषको सहयोग चाहिन्छ भन्ने थाहा छ । तर पाउदैनन्, आफैले काम नगरी बस्न सक्दैनन् । धेरैले दुखेसो गरे, “काम गर्नैका लागि जन्मिएका हौं की !”

हुन त मासिक तलब आउने जागिर गर्ने महिलाबाहेक शहरदेखि गाउँसम्मका महिलाको अवस्था एउटै छ । तर श्रमको मूल्य नपाउँनेमा गाउँका महिला अगाडी आउछन । घरयासी काममात्र होईन खेतबारीको काममा समेत गाउँका दिदीबहिनीसँग पर्म लगाएर काम गर्ने महिलाको कामले समेत पारिश्रमिक पाउँदैन् । दिनभरी अर्काको घरमा मल बोकेको, खेत बारीमा काम गरेकाले ज्याला पाउछन् तर त्यही काम गाउँभरीका महिलाले पर्ममा गर्दा उनिहरुलाई एकछिन फुर्सद पनि हुदैन र कामको पारिश्रमीक पनि मिल्दैन् । अर्थविद् केशव आचार्य भन्दन् “घरभित्रको मात्र होईन महिलाले कृषिमा गरेको कामको समेत गणना छैन् ।” पुरुष वैदेशिक रोजगार जाने र गाउँमा कामदार नपाउँदा पर्म गरि हिड्ने महिलाको काम दोब्बर भएको बताउँदै आचार्य भन्छन, “जिम्मेवारी बढेको छ, श्रमको मूल्य शून्य छ ।”

उनिहरुले गरेको कडा परिश्रम हेर्दा प्रशस्त पैसा हुनु पर्ने हो, महिलासँग । तर मन परेको मिठो मसिनो खान लगाउनमात्र होईन उपचार गर्नलाई समेत पैसा हुदैन् । किनकी उनीहरुले गरेको कामको प्रतिफल नगदमा आउदैन् । आईएलओका अनुसार विकसित देशमा प्रत्येक दिन महिलाले घरायसी काममा ४ घण्टा २० मिनेट र पुरुषले २ घण्टा १६ मिनेट काम गर्छन । जबकी विकासोन्मुख देशमा महिलाले ४ घण्टा ३० मिनेट र पुरुषले १ घण्टा २० मिनेट मात्रै घरायसी काम गर्छन । नेपालमा भने महिलाले ४ घण्टा र पुरुषले ५६ मिनेट मात्रै दैनिक घरायसी काम गर्ने गरेको सो अध्ययनले देखाएको छ । महिलाले गर्ने श्रम अन्य देशको भन्दा नेपालमा बढी रहेको देखाएको छ, जसअनुसार ८०.७ प्रतिशत छ ।

एक्सन–एडले सन् २०१३ मा गरेको अर्को अध्ययन अनुसार दैनिक नेपाली महिलाहरुले २६८ मिनेट (४ घण्टा २८ मिनेट) घरायसी काम गर्छन भने पुरुषले ५६ मिनेट मात्रै घरायसी काम गर्छन । घर बाहिरको सामाजिक क्रियाकलापहरुमा महिलाको सहभागिता २४ मिनेट मात्रै छ भने जबकी पुरुषले दैनिक १०१ मिनेट त्यस्ता क्रियाकलापमा सहभागि हुने गरेका छन् ।

मध्य र सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लाका महिलाहरुले गर्ने दैनिक कामको मात्र होईन, घरयासी काममा जोतिने शहरका महिलाको अवस्था पनि उस्तै छ । घरमा बच्चा पढाउनेदेखि घरको काममा बाहिरको मान्छे राख्ने हो भने दिईने पारिश्रमिकको हिसाव भएपनि घरकै मान्छेले गर्ने कामको भने हिसावकिताव हुन सकेको छैन् । कडा परिश्रम गर्दा महिलाको स्वास्थ्यमा हुने समस्या, उपचार लगायतका पाटो भने खोतल्नै बाँकी छ । जुन कहाली लाग्दो भेटिन्छ, गाउँघरमा ।

थप रिपोर्ट: दैनिक दुर्दिन

प्रतिकृया दिनुहोस