सरकारलाई रचनात्मक सहयोग गर्छौँ: गच्छदार
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुरा गर्दै उनले मधेशी, आदिवासी जनजाति र थारू लगायतको अधिकारका लागि संविधान संशोधन र कार्यान्वयनका लागि सरकारलाई रचनात्मक सहयोग गरिने स्पष्ट पारे ।
संविधान संशोधन र कार्यान्वयनका लागि फोरम लोकतान्त्रिकसहित चार शक्ति एक ठाउँमा हुनुपर्ने उल्लेख गर्दै उनले यसका लागि नेकपा एमालेका साथै राप्रपा नेपाललाई पनि विश्वासमा लिनका लागि सरकारले पहल गर्नुपर्ने धारणा प्रकट गरे ।
सीमाङ्कनको संशोधन नभई नमान्ने अडानमा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको तीनबुँदे सहमतिमा प्रदेशको सीमाङ्कनको किन उल्लेख नगरेको भन्ने प्रश्न गर्दै उनले तीनबुँदै सहमति गरेर जे भए पनि संविधानको प्रावधानमा मोर्चा प्रवेश गरेकामा खुशी व्यक्त गरेका थिए ।