समाचारआइतवार, पौष २४, २०७३

विपक्षी दलहरुको विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश

हिमालखबर

विपक्षी दलहरुको विरोधकाबीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश भएको छ ।

आज बसेको संसदको दोस्रो बैठकमा संविधान संशोधन विधेयक,  निर्वाचनसम्वन्धी दुई विधेयक पेश भएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने समेत निर्णय भएको छ ।

संसदमा संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरेका थिए ।

तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि एमाले सहितका विपक्षी दलका सांसदहरुले नाराबाजी गरे ।

विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् ।

लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक पेश गरे ।

स‌ंसदको आजै बसेको पहिलो बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो ।

संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिइयो ।

प्रतिकृया दिनुहोस