ब्लगशनिवार, पौष २३, २०७३

बोटे स्वाद

सञ्जीव शर्मा

सीमान्तकृत जातजातिको अधिकार आन्दोलनमा होमिएका ज्ञानबहादुर बोटे (३९) नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष पनि बने, एक कार्यकाल। तिनै बोटे अहिले नवलपरासीको नारायणी किनारमा पर्यटकहरुलाई 'बोटे स्वाद' चखाइरहेका छन्।

बोटे रिसोर्ट, बाघखोर नवलपरासी । तस्वीर: सञ्जीव शर्मा

जनजाति आन्दोलनका अगुवादेखि होटल व्यवसायीसम्मको यो एक चक्करमा उनले सँगालेको राजनीतिक अनुभव भन्छ– देश बन्ने अवसरलाई अतिवादले बिगार्‍यो।

उनका अनुसार, जनताले राजनीतिक–भावनात्मक रुपमा बलियो गरी एकीकृत हुने अभूतपूर्व अवसर ल्याएको बेला संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय–क्षेत्रीय अतिवादको भाँडभैलो शुरु भयो।

“एकातिरबाट उग्र जातीय कुरा आउने अर्कोतिरबाट सबै कुरा यथास्थितिमै राख्ने कसरत हुने”, बोटे भन्छन्, “अनि म चाहिं २०७० सालमा उपाध्यक्षको पदावधि सकिएपछि राजनीतिबाट अलग्गिएर आर्थिक रुपमा सबल हुनेतिर लागें।”

फेरि, पहिचानका लागि पनि आर्थिक समुन्नति जरुरी हुने उनी बताउँछन्। त्यही बुझाइमा उनले नवलपरासीको आफ्नै गाउँ बाघखोरमा 'बोटे गाउँ रिसोर्ट' खोलेर अहिले त्यसैमा चौबीसैघन्टा व्यस्त छन्।

ज्ञानबहादुर बोटे

यसबाट उनको आर्थिकसँगै सांस्कृतिक संरक्षण भइरहेको र पहिचानको लागि 'ग्राउण्ड लेभल' बाट काम गरेको उनको अनुभव छ। टाकन–टुकन रु.५५ लाख लागेको उनको १२ वटा वेडरुम सहितको रिसोर्टमा मासिक औसतमा ३०० पाहुना आउँछन्। अबको चार वर्षमा लगानी उठ्ने उनको हिसाब छ। रिसोर्ट जम्ने लक्षण देखिएपछि उनले स्वीमिङ पुललाई पनि विस्तार योजनामा पारेका छन्। 

केराको पातमा लपेटेर भुंग्रोमा पकाएको नारायणीको माछा बोटे रिसोर्टको मुख्य विशेषता हो। त्यसबाहेकका बोटे खान्कीदेखि पाहुनाको चाहना अनुसार कन्टिनेन्टलसम्मका परिकार पाइन्छ, रिसोर्टमा।

चितवन राष्ट्रिय निकुञ्ज विस्तारसँगै मध्यवर्ती क्षेत्रमा परेको बाघखोरमा रिसोर्ट खोलेका बोटेले पर्यटकलाई वन सफारीको व्यवस्था नगर्ने कुरै आएन। त्यसको लागि हात्ती र जीपको व्यवस्था छ, जसमा सवार भएर गैंडा, हात्ती, मृगलगायतका वनेलु हेर्न पाइन्छ। बोटे भन्छन्, “रिसोर्टको कुल आम्दानीको दुई प्रतिशत स्थानीय जैविक विविधता संरक्षणमा लगाएको छु।”

प्रतिकृया दिनुहोस