संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ: साना दल
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न विपक्षी साना राजनीतिक दलका नेताले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित नौ दलले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनीहरुले संविधान संशोधन विधेयक राष्ट्रहित विपरित भएको दाबी गर्दै सरकारलाई प्रस्ताव फिर्ता गर्न माग गरे ।
नेकपा मालेका महासचिव सिपी मैनालीले सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्नका लागि विधेयक फिर्ता लिनुपर्ने बताए । ‘‘सर्वोच्च अदालतले पनि संशोधन विधेयकमा अहिलेको संसद् केही गर्न नपाउने आदेश दिएको छ’’ उनले भने, ‘‘ प्रदेश संसद्को अधिकारलाई अहिलेको संसदले कटौती गर्न मिल्दैन । त्यसैले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्छ ।’’
उनले सरकारले ‘अदालतको आदेशलाई पनि नमानी संसद्मा जबर्जस्ती छलफल गर्न खोजे कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र देशलाई विभाजित गर्न नल्याइएको बताउँदै नेपाली जनता अखण्ड नेपालका पक्षमा रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य प्रेम सुवालले बाह्य आग्रहमा संशोधन विधेयक ल्याइएको भन्दै विधेयकमाथि संसद्मा छलफल नहुने बताए ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘सर्वोच्च अदालतले संशोधन प्रस्तावको विपक्षमा फैसला गरेकाले’ सरकारले प्रस्ताव फिर्ता लिनाको विकल्प नभएको बताए ।
उनले अहिलेको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएकाले चाँडै निर्वाचनको मिति घोषणा गरेर देशलाई राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट जोगाउन सरकारसँग आग्रह गरे ।
राष्ट्रिय बहुजन पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय नेपाः पार्टीका नेता एवं सांसद लक्ष्मण राजवंशी नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक)का शिवलाल थापा लगायतले संशोधन प्रस्ताव जनविरोधी भएको जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने बताए ।
सभा हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट झाँकीसहित पदयात्रा निकालिएको थियो ।
पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, मालेका महासचिव मैनाली, जनमोर्चाका अध्यक्ष केसीलगायतको सहभागिता थियो ।
रासस