लोकमानविरुद्धको मुद्दामा आइतबार प्रत्युत्तर बहस हुने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दामा आइतबार, २४ पुसमा मात्रै प्रतिउत्तर बहस हुने भएको छ ।
दुई साता स्थगित भई हिजोबाट पुन: बहस शुरु भएको मुद्दामा आज विपक्षीतर्फका वकिलले बहस गरेका थिए ।
विपक्षीको बहस सकिएपछि आजै रिट निवेदक पक्षका वकिलहरुले प्रतिउत्तर बहस गर्ने अपेक्षा गरिएको भए पनि इजलाशले प्रतिउत्तर बहस आइतबारका लागि सारेको हो ।
बहसपछि अदालतले आदेश जारी गर्ने वा आदेश जारी गर्नका लागि अर्को मिति तोक्ने छ ।
न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रहेको उक्त मुद्दामा यसअघि ७ र ८ पुसमा बहस भएर ‘हेर्दाहेर्दै’ मा परेको थियो । ७ पुसमा पक्षका वकिलहरुले बहस गरेका थिए भने ८ पुसमा विपक्षीतर्फका दुई जना वकिलहरुले बहस गरेका थिए । त्यसैगरी २१ र २२ पुसमा पनि विपक्षी वकिलहरुले बहस गरेका थिए ।