टिप्पणीशुक्रवार, पौष २२, २०७३

सबै पीपल बोधिवृक्ष होइनन्

वसन्त महर्जन

बौद्ध भिक्षुहरूमा समेत सबै पीपल बोधिवृक्ष हुन् भन्ने भ्रम रहनु विडम्बना हो।

गौतम बुद्धले जुन पीपलको रूखमुनि बसी ध्यान गरेर बुद्धत्व प्राप्त गरेका थिए, (इ.पू. ५२८) त्यस रूखलाई बोधिवृक्ष भनिन्छ। अहिले भने पीपलको रूख भन्नु नै बोधिवृक्ष हो भन्ने बुझाइ स्थापित हुन खोजेको देखिन्छ।

हिन्दूहरू पीपललाई विष्णुसँग सम्बन्धित मानेर तदनुसार व्यवहार गर्छन्। त्यसको सिको गर्दै वा समकक्षमा राख्न यस्तो भ्रम फैलाउन खोजिएको हो भने यसलाई बौद्ध जगतको अज्ञानता भन्नुपर्छ। 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य क्षेत्रमा अवस्थित पुष्करिणी (शिशुलाई जन्म दिनुअघि मायादेवीले स्नान गरेको पोखरी) को दक्षिण–पश्चिमको पीपलको ठूलो रूखलाई विशेष महत्व दिएको पाइन्छ। त्यसको फेदमा अबीर र पैसा चढाउनेहरूको संख्या पनि बढ्दो छ।

पीपलको रूखमुनि बुद्धत्व प्राप्त गरेको भन्ने जानकारीकै आधारमा यस रूखलाई बोधिवृक्ष मानी यस प्रकारले श्रद्धा गरेको बुझन सकिन्छ।

केही वर्षअघि त्यस क्षेत्रका एक प्रभावशाली बौद्ध भिक्षुले यस रूखलाई बोधिवृक्ष भनी चिनाउँदा यो पंक्तिकारले सविनय फरक टिप्पणी गरेको थियो। तर, भिक्षुले सबै पीपलका रूख बोधिवृक्ष हुन् भन्ने जिकिर गरेका थिए।

यही बुझाइको नतीजा हुनसक्छ, आजकल त्यस रूख वरिपरि बसेर ध्यान गर्ने, ध्यान गरेको जस्तो गरी बुद्धका विभिन्न मुद्राहरूको अभिनय गर्दै फोटो खिच्नेहरूको भीड देख्न पाइन्छ।

यसरी रमाउनेमध्ये अधिकांश नेपाली युवक–युवती हुन्छन्। धेरैजसो विदेशी तीर्थयात्रीहरू भने त्यस्तो दृश्य हेरेर अचम्म मान्दै हिंड्ने गरेको देखिन्छ। यसले एउटा कुरामा दुई समाजको बुझाइको फरक देखाउँछ।

बुद्ध जन्मेको स्थान देखाउन कुनै बेला संकेतका रूपमा ढुङ्गा राखिएको थियो। बुद्धसँग सम्बन्धित स्थलहरूको तीर्थ गर्ने क्रममा इ.पू. २४९ मा लुम्बिनी आइपुगेका मौर्य सम्राट अशोकले बुद्ध जन्मेको ठाउँ र त्यो संकेत गर्ने ढुङ्गाको समेत सुरक्षाहेतु पर्खाल बनाए, स्तम्भसहित। कालान्तरमा यहाँ विभिन्न संरचना बन्ने क्रममा मायादेवी मन्दिरकै निर्माण भयो।

जर्मन पुरातत्वविद् डा. फुहररले अशोक स्तम्भमा उत्कीर्ण अभिलेखको आधारमा सन् १८९६ मा लुम्बिनी पहिचान र प्रचार गरे। स्तम्भको पूर्वपट्टिको ढिस्कोमा रहेको बुद्धजन्मको आकृति अंकित भग्न मूर्तिलाई चिन्न नसकेर वनदेवीको रूपमा पुज्दै र पशुबलि चढाइँदै आएकोमा १८८९ मा वास्तविकता थाहा पाए पनि लामो समयसम्म त्यसको कुनै नाम थिएन। मायादेवी मन्दिर भनिएको त ५० वर्षअघि मात्रै हो।

जनरल केशर शमशेरको नेतृत्वमा सन् १९३३ मा यस ढिस्कोको उत्खनन् हुँदासम्म त्यहाँ कुनै रूखबिरुवा नभएको त्यसबेलाको तस्वीरले बताउँछ। त्यसपछि उमि्रएको एउटा पीपल हुर्कंदै गएर अन्ततः त्यो रूखसहितको संरचना लुम्बिनीको छवि बन्न पुग्यो। १९९३–९६ मा त्यस ठाउँको उत्खनन् गर्ने क्रममा पीपल काटिंदा विरोध गर्दै अदालतमा मुद्दासमेत हालियो।

मायादेवीले बुद्ध जन्माउँदा समातेको र संसारभरका बौद्ध धर्मावलम्बीले श्रद्धा गर्ने बोधिवृक्ष काटियो भन्ने भ्रम कति बलियो बनेको रहेछ भन्ने त्यसले देखायो। कतिसम्म भने, काटिएको पीपलको 'टिस्यू कल्चर' गरेर त्यसबाट लुम्बिनीको मार्केटिङ गर्ने अर्थहीन होहल्ला मच्चाउन पनि बाँकी राखिएन।

वास्तवमा बुद्धको जन्म पीपलमुनि नभएर ललितविस्तर अनुसार प्लाक्ष र अन्य ग्रन्थअनुसार सालवृक्षमुनि भएको हो। उक्त वृक्ष इसाको चौथो शताब्दीमा चिनियाँ यात्री सेङ साइ आउँदासम्म जीवित नै थियो।

सन् ४०३ मा लुम्बिनी आएका अर्का चिनियाँ यात्री फाहियानले भने रूखको चर्चा नगर्नुले त्यसको अस्तित्व नरहेको बुझाउँछ। बुद्धको जन्म पीपलको रूखमुनि नभई अन्य वृक्षमुनि भएको र सबै पीपलका रूख बोधिवृक्ष हुँदैनन् भन्ने सामान्य जानकारी नहुँदा यस सम्बन्धी बहस वा क्रियाकलापमा नेपालीको समय बर्बाद भइरहेको छ।

बुद्धले ध्यान गरेर बोधि–लाभ गरेको रूखलाई बोधिवृक्ष भनिन्छ, तर उक्त जातका सबै रूखलाई बोधिवृक्ष भन्न मिल्दैन। अघिल्ला बुद्धहरूले अन्य जातका रूखमुनि बुद्धत्व प्राप्त गरेको विवरण पाइएबाट पनि सबै बुद्धले पीपलकै रूखमुनि ध्यान गरेको मान्नु परेन।

भारतको बोधगयामा बोधिवृक्ष मास्ने प्रयास मौर्य कालमै दुईपटक भयो। त्यसपछि पनि पटक–पटक त्यस्तै प्रयास हुँदा बोधिवृक्ष विनाश नै भयो। भिक्षुणी संघमित्राले एउटा हाँगो श्रीलंका लगेर सारेको हुनाले बोधिवृक्षले निरन्तरता भने आजसम्म पाएकै छ। पछि बोधगयामा पनि श्रीलंकाबाटै हाँगो ल्याएर रोपिएको हो।

भारत र श्रीलंकाबाट हाँगा लगेर विभिन्न देशहरूमा रोपिएका पीपललाई पनि बोधिवृक्ष नै भनिन्छ। लुम्बिनीमा भने कुन पीपललाई बोधिवृक्ष भनिन्छ भन्ने हेक्का नहुँदा बरोबर लज्जित हुनुपर्ने स्थिति आउने गरेको छ।

प्रतिकृया दिनुहोस