मलाई पदबाट हटाएको जानकारी छैनः ज्ञवाली
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले आफूलाई हटाएको पत्र प्राप्त नगरेको बताएका छन् । उनले भने, "साँझ पाँच बजेसम्म पत्र आएको जानकारी मलाई छैन ।"
२१ पुस साँझ पाँच बजेसम्म पनि आफू सदा झै कार्यालयको काममा व्यस्त रहेको ज्ञवाली बताउँछन् ।
बर्खास्त होइन पुन: स्पष्टीकरण
२१ पुस बिहान मन्त्रिपरिषद्को बैठक बसे लगत्तैदेखि ज्ञवाली बर्खास्त गरिएको समाचार चर्चामा आएको थियो ।
तर सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले भने ज्ञवालीले यसअघि दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई कारवाही किन नगर्ने भनेर थप स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन् ।
"स्पष्टीकरणबाट सरकार सन्तुष्ट छैन। त्यसैले उहाँलाई थप कारवाही किन नगर्ने भनी फेरी स्पष्टीकरण सोध्ने निर्णय भयो" सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले भने ।
यद्यपी एमाले अध्यक्ष केपी ओलीले समेत हिजो दिउँसो ज्ञवालीलाई हटाइएको समाचार पुष्टी हुने गरी उनलाई सरकारले हटाएकोमा आपत्ति प्रकट गरेका थिए ।
मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पदबाट बर्खास्त गर्ने सैद्धान्तिक सहमति जनाए पनि पछि कानूनी जटिलता नआओस भनेर पुन स्पष्टीकरण सोध्ने निर्णय गरेको र यस विषयमा अन्तिम निर्णय लिने जिम्मा प्रधानमन्त्रीलाई सुम्पेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।