लोकमानविरुद्धको मुद्दा फेरि ‘हेर्दाहेर्दै’ मा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा जारी बहस आज पनि टुंगिएन । आजको बहसमा विपक्षी वकिलहरुले गरेको बहस नटुंगिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा परेको हो ।
आज २१ पुसमा भएको बहसमा विपक्षीतर्फका वकिलहरु सुशील पन्त, बाबुराम कुवँर, महादेव यादव, सुरेन्द्र महतो, कुमार रेग्मीले बहस गरेका थिए । न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रहेको उक्त मुद्दामा भोलि, २२ पुसमा पनि विपक्षी वकिलहरुले बहस हुने छ ।
भोलि विपक्षीतर्फका दुई जना वकिलले बहस गरेपछि निवेदक पक्षका वकिलहरु प्रतिउत्तर बहस गर्ने उक्त मुद्दाका रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्याललले जानकारी दिए । बहसपछि इजलाशले अादेश जारी गर्ने वा अादेश जारी गर्ने दिन तोक्ने छ ।
यसअघि ७ र ८ पुसमा बहस भएर ‘हेर्दाहेर्दै’ मा परेको उक्त मुद्दामा दुई सातापछि आजदेखि फेरि बहस शुरु भएको हो ।
७ पुसमा पक्षका वकिलहरुले बहस गरेका थिए भने ८ पुसमा विपक्षीतर्फका दुई जना वकिलहरुले बहस गरेका थिए ।