पुन:निर्माण प्राधिकरणका सीईओ हटाइएकोमा ओलीको आपत्ति
नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले पदमुक्त गरेकोमा आपत्ति जनाएका छन् ।
उनले प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएको सरकारले उल्टै प्रमुखलाई पदमुक्त गर्ने अनुचित निर्णय गरेको आरोप लगाए ।
पार्टी मुख्यालय धुम्बारहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले विदेशी दातृ निकायले समेत प्राधिकरणले राम्रो काम गरेको प्रतिक्रिया दिइरहेका बेला सीईओलाई हटाएर गलत काम गरेको बताए ।
'सिमाङ्कन हेरफेरको माग प्रायोजित'
अन्तरक्रियामा बोल्दै ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको नभई अन्यत्रैबाट प्रायोजित भएको दाबी गरेका छन् ।
उनले सरकारले स्वेच्छाचारी ढङ्गले सिमाना हेरफेरको प्रस्ताव ल्याएको आरोप लगाउँदै थपे, “संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोजित माग यसमा छन् । त्यो माग समस्या समाधानमा भन्दा पनि समस्या बल्झाउने प्रकारको छ ।”
संविधान संशोधनबारे सर्वोच्च अदालतको फैसला पनि प्रदेशसभा नबनी सिमाना हेरफेर गर्न नसक्ने पक्षमा आएको दाबी गर्दै उनले आफूहरुले लिएको अडान र विश्लेषण सही स्थापित भएको बताए ।