दस्तावेजशनिवार, श्रावण २९, २०७३

चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति

ज्ञानमणि नेपाल

नेपाललाई चीन देखाएर तर्साउने र आफू पनि तर्सने ब्रिटिश–भारतीय नीति अद्यापि कायम छ।

रेजिडेन्ट स्मिथले तराईतिरबाट आउने बाटोका ठाउँको नाउँ समेत खुलेको नक्शा आफूले नपाएको तर उत्तरतर्फको नक्शा चाहिं हेरेको बताउँदै नेपालको बीच भागको नक्शा दिनुभए मेहरवानी हुने थियो भन्दा चन्द्रशमशेर महाराजले खोज्न लगाएको छु भने। तर, त्यो नक्शा दिन चाहिं गाह्रो पर्ने जनाए।

त्यसका लागि भारदारहरूसँग सल्लाह गर्नुपर्ने र भारदारहरूले महाराज अंग्रेजहरूसँग धेरै खुल्न लागेको भन्दै कुरा काट्न थालेको बताउँदै महाराजले त्यसमा उनीहरूलाई दोष लगाउने ठाउँ पनि नभएको बताए।

“तपाईंहरूको व्यवहारले त्यस्तै देखाइरहेको छ”, महाराजले रेजिडेन्टलाई भने, “इण्डिया गभर्मेन्टले नेपाललाई इण्डियाको नेटिभ स्टेट जस्तो ठान्यो भनेर हाम्रा मान्छेका मनमा गोसा परेको छ।”

महाराजले नेपाललाई भारतको नेटिभ स्टेटमा गाभेर लेखेको हालसालैको इम्पोरियल गजेटियर पत्रिका नै देखाएर रेजिडेन्टलाई नाजवाफ पारे। त्यो देखेर नेपालीले साह्रै नराम्रो मानेका र इण्डिया गभर्मेन्टको आलोचना गरेको महाराजले बताए।

अघि रेजिडेन्ट गर्लिस्टोन यहाँ हुँदा एक जना सर्भेयर गोप्य रूपले नेपाल पसेर भोट जाने बाटोघाटोको सर्वे गरेछन्। खर्च सकिएर रेजिडेन्सीमा आएपछि कुरो खुल्यो।

त्यस प्रसंगमा स्मिथले 'हाम्रो सरकारलाई भोटमा चीन आयो भने नेपालमा पनि सरासर आउन सक्छ भन्ने चिन्ता रहेकोले भोट जाने बाटोघाटोको जानकारी राखिराख्नु आवश्यक ठानेको हुनसक्छ' भन्दै महाराजको चित्त बुझाउन खोजे।

त्यसलाई ठाडै अस्वीकार गर्दै महाराजले 'त्यो हुनै नसक्ने कुरो हो' भने। महाराजले 'चीनले नेपाललाई भोट जस्तो भनेको नजानेको नसुनेको बताउँदै प्रतिनिधिमण्डल जाने कुरा साविकदेखि चलिआएको औपचारिकता मात्र हो, नेपाल चीनको हुने अरू कुनै संभावना छैन, पहिले चीनकै रोहवरमा सन्धि हुँदा भोटले हामीलाई सालना ५० हजार तिर्ने बन्दोबस्त भएको बताए।

मुख्य कुरा के छ भने, त्यसबेला ब्रिटिश भारतका अधिकारीहरू चीनको त्रास देखाएर नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्थे। महाराजले पनि त्यो अनुभव गरेकै थिए। ब्रिटिश अधिकारीहरू भने सधैं यही कुरा उठाइरहन्थे। चीनको हाउगुजी देखाएर नेपाललाई कजाउने ब्रिटिश सरकारको नेपाल नीति थियो। आश्चर्य, आज डेढ सय वर्षपछि स्वतन्त्र भारतको नेपाल नीति त्यही छ।

“चीनलाई नेपालमा जम्न ब्रिटिश सरकारले कहिल्यै दिने छैन”, सं. १९६४ मा अंग्रेज रेजिडेन्ट जेम्यानर्स स्मिथले बोलेको यही वाक्य अहिले २०७३ सालमा पनि स्वतन्त्र भारतका नेपालनीतिका जानिफकारहरू दोहोर्‍याइरहेका छन्। भारतले बारम्बार नाकाबन्दी गरेर नसताएको भए नेपालले पुरानो मित्रराष्ट्र चीनसँग बेपार, पारवहन तथा यातायात सन्धि गर्थ्यो त? अहिले भारतमा सञ्चार माध्यमले कोकोहोलो मच्चाइरहेका छन्, के भन्नु?

नेपालको परराष्ट्र नीतिमा एकरूपता छैन। नेतैपिच्छे, पार्टी पिच्छेका आ–आफ्ना नीति छन्। सार्वभौम र स्वतन्त्र राष्ट्र नेपालले आफ्ना मित्रराष्ट्रहरूसँग समानताका आधारमा सन्धि–सम्झौताहरू गर्ने दिन कहिले आउला? तर, यो अवश्यम्भावी कुरा हो, हुनैपर्छ।

सन् १९०७ सेप्टेम्बर मैन्हाको ३ तारीख मुताविक १९६४ मीती भाद्र १६ गते रोजका दिन व्यहान रजिडन्ट जेम्यानर्स स्मीथ साहेव प्राइभेट मुलाकातलाई ८ वजे सिंहदरबारमा आई कुरा कहानि भयाको टीपन।

रजि– तपायींबाट यौटा नक्सामा १ जना डाक्टरले हेटौडाबाट काठमाडौं यकै दिनमा आयाको बाटोको निसान दियाको छ भनि भंनुहुन्थ्यो. त्यो नक्सा मैले भेटायन.. तपायींबाट पठाई दिनु भयाको नेपालका उत्तरतरफका सेवाना तरफका नक्सा देखें तराई तरफको सिकारी नक्सा पनि हेरी सकेको छु. बीच भागको नक्सा पनि अवस्य हुनुपर्छ. मेहरवानीसाथ मलाई हेर्न दिनुहोस्

श्री ३– त्यो नक्सा मैले खोजन लायाको छु. पाइयो भने पठाई दिनुहुनेछु तर येकदम् हतपति पठाउन भने ठीक हुने छैन कीन भने सो पठाउनाले मैले साह्रै खुल्ला मै काम गरे भनि भारदारहरूका मनमा पर्न जाने र नीको मान्ने छैनन् हाम्रो भारादारहरूका मन्मा के परेको छ भने इंडीया गवरमेन्टको मुराद हामीलाई पनि इंडीयाको यौटा नेटीभ इस्टेट जस्तो गर्नापटी झुकेको छ भनि ठानेका छन् तीनीहरूमा कसै कसैले हाल नया छापियेको इम्पोरियेल गजेटीयरमा नेपाललाई पनी नेटीभ इस्टेटहरूमा सामेल गरी लेखेको हुनाले तस्मा नराम्रो कमेट गरे.

रजि– यो कीताप तपायींसंग छ की?

श्री ३– छ. (भन्या हुकुम मै लीन पठाई देखाई बक्सेपछी) यस्तै कुराहरूले गर्दा तपायींहरूसंग खुल्ला भै काम् गर्नालाई मुस्कील परेको रजि– पुरानु ग्याजेटीयर पनि तपायींसंग छ की

श्री ३– छ म पठाई दिउंला

रजि– मिष्टर गर्लीष्टन यहां रजीडन्ट छंदा इंडीया गवरमेन्टबाट १ जना सर्भेयरलाई गोप्य तवरसंग नेपाल पठायाका रहेछन् र नीज सर्भेयर आई खर्च सकेको हुनाले मिष्टर गर्लिष्टनसंग खर्च माग्न आयेछन् र नीजले सो सर्भेयर आयाको खवर अघिबाट थाहा नपायाको हुनाले मलाई थाहा नदि कीन पठायाको भनि उजुर गरेका रहेछ र गभरमेन्ट इंडीयाले तेस्को जवावमा सर्भे डिपार्टमेन्ट आफ्नै मनासीवले पठायाका हुन् भनि लेखि पठाया छन्. टीवेट्मा नेपालबाट जाने आउने बाटो कति रहेछ भनि जान्नाको गभरमेन्टको इरादा छ. गभरमेन्टलाई टिवेट्मा चीन बलियो भो भने नेपालमा सरासर आउन सक्ने होला भंने दहसत मानेका छं

श्री ३– तेस्तो हुन सक्ला भंने लाग्दैन

रजि– चीन्ले नेपाललाई आफ्नु हो भनि भंन सक्ने छैन भनि सम्झेका छ

श्री ३– चीनले तेस्तो दावा गर्छ भंने लाग्दैन नेपालले चीनलाई मांनुपर्छ भंने लीखित पत्र अहद भयाको केहि छैन खालि टिवेट्संगको अहदमा ५। ५ वर्षमा मिसन् जाने गरेको केहि होइन

रजि– चीनलाई नेपालमा जम्न ब्रिटीस सर्कारले कैल्है दिने छैन. चीनको यांहा रजिडंट पनि छैन

श्री ३– हो, हाम्रो चीनसंग तेस्तो अहद पनि केही छैन. अघि १ पल्ट टीवेट्संग अहद हुंदा साल्को ५०,००० दिने कबुल गरेका थीये टीवेट् तरफको र चीन्तरफको पुरानु कागज पत्रहरू दुरुस्त रहेका छैनन. बृटिस पट्टिको कागजपत्र भने दुरुस्तसाथ अफिसमा रहेको छ

रजि– खचराहरू माथी नेपालको हक् कसरी पुगेको रहेछ

श्री ३– तेस्को लीखत कागजपत्र खोजेको केहि पाइयेको छैन. येस् वीसयेमा हाम्रा ल्हासामा रहेका वकिललाई पनि लेखी पठायाको छु. कीसनसींको वयान तपायींकाहा पठाई दीयाको थीयें. त्यो वयान् हीजो अस्ति नै पठाउन आटेको थीयें तर कसैले सो पठाउन हुदैन भनि भनेको हुनाले १।२ दिन ढीलो हुन गयाको हो. तीनीहरूलाई मैले के भने भने हाकिमहरूले दोस्ताना देखायेनौ भने बृटिसले मात्र हामीउपर कसरी दोस्ती देखाउलान्. सावीक् नभयाको भनिमात्र १९ नाले कसरी कां होला. हामी उपर केहि वदनीयेत् भयाको भया हामीलाई बंदुक खजाना कीन दीन के भनि भने वाहापछीमात्र सो वयान् पठाउनामा मंजुर गरे

रजि– सो वयान पठाउनु हुन्न भनि कसले भनेका हुं

श्री ३– माफ राखनु होस्. तीनीहरूको नाउं म भंन चाहदीन

रजि– इडीया गभरमेन्टले तपायींको यो दोस्तीको काम् बढिया मानको छ

श्री ३– नीज कीसन्सिंको बयान् लिदा दस्तुर माफिक् बकपत्रै गराई लीनालाई सो गर्नाले आफ्नु दील खोली बयान नगर्ने हुनाले कुरा कहानीबाट नीजसंगको खवर लीयेको हो

प्रतिकृया दिनुहोस