‘दीक्षितमा युगको प्रतिनिधित्व गर्ने सटिक लेखन क्षमता’
नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पुर्याएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा आज रत्न पुस्तकालयले शोकसभा आयोजना गरेको छ ।
मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा दीक्षितको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण गरियो ।
शोकसभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्याएका दीक्षितमा युगको प्रतिनिधित्व गर्ने सटिक लेखन क्षमता रहेको बताए ।
प्रा डा कुमार कोइरालाले ५० भन्दा बढी पुस्तकका सर्जक दीक्षितले नेपाली भाषासाहित्यका अतिरिक्त शैक्षिक उन्नयनमा पनि ठूलो योगदान पुर्याएको उल्लेख गरे ।
आयोजक संस्था पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, डा केदार न्यौपाने, मनमोहन भट्टराई, भीमशङ्कर भण्डारी, डा मधुसूदन लामिछाने, मुकुन्दराज सत्याल लगायत साहित्यकार र समालोचकले दीक्षितको निधनबाट नेपाली भाषासाहित्यका लागि अपूरणीय क्षति पुगेको बताए ।
मदनस्मारक स्कुलमा पनि शोक
दीक्षितको निधनमा ललितपुरस्थित मदनस्मारक स्कुलमा पनि शोकसभाको आयोजना गरियो ।
१९ पुसमा आयोजित शोकसभामा विद्यालयका शिक्षक, विद्यार्थीले दीक्षितको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले नेपाली भाषाको विकास र नेपाली भाषाका दस्तावेजहरुको संकलनमा दीक्षितले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै विद्यालयका संस्थापक समेत रहेका दीक्षितले शिक्षा क्षेत्रमा समेत विशिष्ट योगदान पुर्याएको स्मरण गरेका थिए ।
नेपाली भाषाका शिक्षक माधव नेपालले दीक्षितको निधनबाट विद्यालयले एक अभिभावक गुमाएको भन्दै विद्यालयले भौतिक एवम् शैक्षिक क्षेत्रमा विशिष्ट प्रगति गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए।
लेखक तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको १४ पुस विहान निधन भएको थियो ।
रासस