मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतको आदेशको स्वागत गरेको छ । मोर्चाको २० पुसमा बसेको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
सरकारले संसद्मा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता गर्नुपर्ने ठहर बैठकले गरेको छ । संशोधन प्रस्ताव पारित गर्न अन्य दलहरुलाई आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको महासचिव झाले बताए ।
बैठकले संविधान संशोधनका लागि थप दबाबमूलक आन्दोलनका कार्यक्रम बनाउने जिम्मा मोर्चाको सचिवालयलाई दिएको छ । मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग २१ पुसमा थप छलफल गर्ने भएको छ ।
मोर्चाको बैठक अघि मोर्चा र सङ्घीय गठबन्धनको बैठकसमेत बसेको थियो ।रासस