पन्ध्र वर्षमा १२ किमी
पर्याप्त बजेट विनियोजन नहुँदा मुसीकोट–चुनवाङ जोड्ने २५ किमी सडक १५ वर्षमा १२ किलोमीटर मात्रै बनेको छ।
सशस्त्र विद्रोही नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन महत्वपूर्ण मानिएको 'चुनवाङ बैठक' ले चर्चित बनेको थियो, चुनवाङ गाउँ।
त्यसपछि देशले त गति लियो तर रुकुमको यो दक्षिणी दुर्गम चुनवाङ गाविसको गति भने सुस्त छ। यतिसम्म कि सदरमुकाम मुसीकोट जोड्ने सडक नै पनि १५ वर्षमा १२ किलोमीटर निर्माण भएको छ, त्यो पनि ट्रयाक मात्रै।
सदरमुकाम मुसीकोटलाई गाविसहरूसँग जोड्न २०५९ मा सडक निर्माण शुरूआत गरिंदा पहिलो योजनामा परेको थियो, चुनवाङ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू भएको २५ किलोमिटर लामो मुसीकोट–चुनवाङ सडकका लागि पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र परेको स्थानीय बासिन्दा गुनासो गर्छन्। “प्रत्येक वर्ष थोरै बजेट छुट्याउँदा अलपत्र छ” निर्माण समितिका अध्यक्ष लालबहादुर विष्ट भन्छन्।
पन्ध्र वर्ष लगाएर निर्माण भएको शीतलपोखरी देखि चौखावाङ हलतारासम्मको १२ किलोमिटर सडकमा पनि गाडी चल्दैनन्। ट्रयाक खोल्दै, रोकिंदै गरेका कारण आवतजावत र सामान ढुवानी गर्न सास्ती हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। “बनेको सडक पनि ठाउँठाउँमा भत्किंदै गएको छ” चुनवाङ गैह्रीगाउँका सर्वजित डाँगी भन्छन्।
दुई करोड खर्च
जिविस, रुकुमका अनुसार शीतलपोखरी–चौखावाङ–चुनवाङ सडकमा १५ वर्षमा रु.२ करोड भन्दा बढी खर्च भइसकेको छ। आर्थिक वर्ष २०५९/६० देखि सात वर्षको खर्च विवरण राखिएको छैन।
यो अवधिमा रु.४० लाख जति खर्च भएको जिल्ला विकास समिति, रुकुमका इन्जिनियर पहल पुन बताउँछन्। त्यसपछिका ८ वर्षमा रु.१ करोड ७३ लाख ४५ हजार ८०० खर्च भएको जिविसको तथ्यांक छ।
कमजोर भूबनोटका कारण सडक निर्माणमा समस्या देखिएको इन्जिनियर पुन बताउँछन्। उनका अनुसार, प्राविधिक मूल्यांकन विना नै यो सडक निर्माण थालिएको थियो। मुसीकोट–चुनवाङ जोड्न प्राविधिक तथा भौगोलिक रूपमा साँखको लेकबाट लैजानुपर्ने भए पनि राजनीतिक दबाबका कारण शीतलपोखरी–चौखावाङ–चुनवाङ तय गरिंदा समस्या आएको हो।
अर्कोतिर भिरालो ठाउँ भएकाले प्रत्येक वर्ष संरचना निर्माण गर्दागर्दै पहिरोले बगाउँदा समस्या थपिएको छ। “भिरालो ठाउँ छ, पहिरो गइरहन्छ। प्रत्येक वर्ष निर्माणका सामान, वाल, जाली बग्छन्” इन्जिनियर पुन भन्छन्।
समयमा सडक निर्माण नहुँदा चुनवाङका बासिन्दा सामान ढुवानीका लागि खच्चडकै भर पर्दै आएका छन्। चुनवाङबाट सदरमुकाम मुसीकोट पुग्न एक दिन हिंड्नुपर्छ। सुस्त गतिमा रहेको यो सडक समयमा निर्माण सम्पन्न हुनेमा स्थानीय बासिन्दा पनि विश्वस्त छैनन्। यही गतिमा निर्माण हुने हो भने अझै कैयौं वर्ष लाग्ने बताउँदै चुनवाङ–४ का मनवीर खड्का भन्छन्, “सडककै हाल यस्तो छ, अरू विकास के होला!”
प्रवीर ददेल, रुकुम