भारतबाट ल्याएर भारत लगिंदै गरेका ८ ट्रक गोरु चन्द्रौटामा पक्राउ
भारतको एक राज्यबाट नेपालको बाटो हुँदै अर्को राज्यतर्फ तस्करी गर्न लागिएका ८ ट्रक गोरु प्रहरीले चन्द्रौटाबाट नियन्त्रणमा लिएको छ ।
मासुको प्रयोजनका लागि गोरु ओसार–पोसार भैरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले सशस्त्र प्रहरीको सहयोगमा ८ वटा ट्रकमा रहेका १७१ गोरु नियन्त्रणमा लिएको हो ।
कपिलवस्तुको चन्द्रौटा नजिक बहादुरगञ्ज, जवाभारी लगायतका स्थानहरुबाट ट्रकमा लोड गरी नेपालकै पूर्वी सीमानाबाट भारततर्फ लैजाँदै गरिएका ती गोरु खरेन्द्रपुरबाट बरामद गरिएको हो ।
भारतमा गोरु नेपालतर्फ निर्यात गर्न पूर्ण प्रतिवन्ध लगाएको छ भने भारतकै एक राज्यबाट अर्को राज्यमा पनि विशेष प्रयोजन नभई मासुका लागि ओसार पसार गर्न पाइँदैन ।
तर पनि कपिलवस्तुका विभिन्न खुला नाकाबाट तस्करहरुले गोरु नेपाल भित्र्याउने गरेका छन् ।
यसरी भित्र्याईका गोरुलाई केही क्वारेन्टाईन चेकजाँचको कागज बनाइन्छ भने केही गोरु स्थानीय बहादुरगंज हाटबजारबाट स्थानीय कृषकहरुबाट खरिद गरिएको कागज बनाइन्छ ।
यसरी विभिन्न बाहनामा भारतबाट लुकीछिपी भित्र्याईएका गोरु झापाहुँदै पुनः भारततर्फ निकासी हुनु गरेको बुझिएको छ ।
भारतको पश्चिम बंगाल, वांगलादेश, भुटान लगायतका ठाउँमा मासुको प्रयोजनका लागि गोरुको चोरी निकासी हुने गरेको छ ।
गोपाल भण्डारी, कपिलवस्तु