रिपोर्टबुधवार, पौष २०, २०७३

अंग प्रत्यारोपणमा फड्को

रामु सापकोटा

दुई दशकअघि आँखाको नानी, त्यसपछि क्रमशः मिर्गौला, मासी (बोनम्यारो) र अहिले सफल कलेजो प्रत्यारोपण! यसरी मुलुकले विशेषज्ञ स्वास्थ्य सेवामा फड्को मारेको छ।

२२ मंसीरमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिंदै।

२२ मंसीर, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा सात कोरियाली र १३ जना नेपाली डाक्टरको टीमले गपली, भक्तपुरका बलराम नागा (३६) मा कलेजो प्रत्यारोपण गर्‍यो। बिरामी भाइलाई कलेजो दान गरेकी कान्छी दिदी सानुमैयाँ (४०) लाँगेजु २४ मंसीरमा अस्पतालबाट डिस्चार्ज भइन् भने १ पुसबाट खाना खान थालेका बलराम १० पुसमा सकुशल घर फर्केका छन्। 

जन्डिस बिग्रेर कलेजो 'फेल' भएका बलराम नयाँ कलेजो प्रत्यारोपणको लागि भारत जाने तयारीमा रहेका बेला भक्तपुरकै अस्पतालले त्यस्तो सेवा दिन थालेको थाहा पाएपछि २० मंसीरमा भर्ना भएका थिए। उनका भिनाजु गौतम सुजखु नेपालमा पहिलो पटक आफ्ना सालाको निःशुल्क कलेजो प्रत्यारोपण गराउन पाउनुलाई सौभाग्य भन्छन्।

त्यस्तै, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, “नेपालमा अंग दान सम्बन्धी नियमावली बनेको सातादिनमै सफल कलेजो प्रत्यारोपण हुनु गौरवको कुरा हो।”

१७ वैशाख २०६९ सालमा अंग प्रत्यारोपण केन्द्र खुलेपछि चिकित्सा विज्ञानमा जटिल मानिने अंग प्रत्यारोपणमा नेपालले यो सफलता हासिल गरेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती चिकित्सा विज्ञानमा विशेषज्ञ सेवामा पर्ने अंग प्रत्यारोपण शुरू हुँदा मुलुकको स्वास्थ्य सेवाको विधि, पद्धति र प्रक्रियामा पनि सुधार आउने बताउँछन्। उनी भन्छन्, “जनस्वास्थ्यका सूचकहरूमा भने यसले धेरै ठूलो प्रभाव पार्दैन।”

अब पालो मुटुको
निकै जटिल मानिने कलेजो प्रत्यारोपणमा सफलतापछि नेपाली चिकित्सकहरूले मुटु र फोक्सो प्रत्यारोपण सम्बन्धी बहस थालेका छन्। अंग प्रत्यारोपणका अनुभवी डा. पुकारचन्द्र श्रेष्ठ अब नेपालमै मुटु, फोक्सो र प्याङ्क्रियाज प्रत्यारोपण गर्न आधार तयार गर्नुपर्ने बेला भइसकेको बताउँछन्।

निजी क्षेत्रबाट ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कलेजोसँगै मुटु प्रत्यारोपणको तयारीको क्रममा डेढ महीना अघि पूर्वाधारको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको थियो।

१० जनामा मिर्गौलाको सफल प्रत्यारोपण गरिसकेको ग्राण्डीका निर्देशक डा. चक्रराज पाण्डे मन्त्रालयबाट अनुमति पाएपछि पहिलो चरणमा कलेजो प्रत्यारोपणलाई स्थापित गरेर मुटु प्रत्यारोपण गर्ने बताउँछन्।

नेपाली चिकित्सकलाई प्रत्यारोपण गर्न सक्ने बनाएपछि मात्र मुटु प्रत्यारोपण सेवा शुरू गर्ने उनी बताउँछन्। “थप अंग प्रत्यारोपणका लागि चाहिने पूर्वाधार हामीसँग छ” डा. पाण्डे भन्छन्, “सरकारले चाहिं अंग बिग्रिनै नदिन आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनुपर्छ।” 

शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला भने पूर्वाधार र जनशक्तिको हिसाबले अंग प्रत्यारोपण गर्न सक्षम अस्पतालहरूबीच यो बेला समन्वय हुनुपर्ने धारणा राख्छन्।

उनको विचारमा, मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पनि मुटु प्रत्यारोपण गर्न लगभग तयार छन्।

अंग प्रत्यारोपण जस्तो विशेषज्ञ सेवालाई व्यवस्थित पार्न पनि पूर्वाधार र जनशक्तिमा सक्षम अस्पतालहरूबीच समन्वय हुनुपर्ने डा. कोइरालाको धारणा छ।

मुटुको जटिल शल्यक्रियाहरू गरिरहेको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका विशेषज्ञ डा. रामेश कोइराला 'ब्रेन डेथ' (मस्तिष्क मृत्यु) भएका बिरामीका आफन्तले मुटु दान गर्न सहमति दिने अभ्यास हुने बित्तिकै प्रत्यारोपण सेवा शुरू गर्न सकिने बताउँछन्।

ब्रेन डेथ भएकाहरूको अंग झिक्ने अस्पतालले प्रत्यारोपण गर्न नपाउने भएकोले अब प्रत्यारोपण गर्न चाहने बिरामीहरूको दर्ता सम्बन्धी व्यवस्थालाई अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।

विशेषज्ञ सेवामा कोसेढुंगा
मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार, मुटुको तल र पेटको माथिल्लो भागमा हुने कलेजोमा धेरै नसा जोड्नुपर्ने भएकोले कलेजो प्रत्यारोपण बढी जटिल हुन्छ, जसमा सफलता मिलेको छ।

पहिलो पटक कलेजो प्रत्यारोपण गरेका बिरामी बलराम नागा।

चुनौतीपूर्ण काममा मिलेको सफलताले देशको चिकित्सा क्षेत्र उत्साहित बनेको उनी बताउँछन्। त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव डा. उप्रेती अन्य मुलुकमा प्रत्यारोपण सेवा निजी क्षेत्रको पहलमा हुने गरेको भए पनि नेपालमा सरकार आफैंले प्रत्यारोपण सेवा दिनु महत्वपूर्ण पक्ष भएको ठान्छन्।

मन्त्रालयको मानव अंग प्रत्यारोपण समितिका संयोजक प्रा. डा. गणेश गुरुङ अब यो सेवा लिन विदेश जानुपर्ने बाध्यता हटेकोले नेपालको चिकित्सा सेवामा नयाँ आयाम थपिएको बताउँछन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति समेत रहेका उनको भनाइमा, कलेजो प्रत्यारोपणमा मिलेको सफलता मुलुकको विशेषज्ञ स्वास्थ्य सेवामा एउटा कोसेढुंगा हो।

नेपालमा आँखाको नानी (कर्निया), मिर्गौला र बोनम्यारो प्रत्यारोपण भए पनि अंग प्रत्यारोपण सम्बन्धी नियमावली नबन्दा कलेजो प्रत्यारोपण हुनसकेको थिएन।

१९ मंसीरमा नियमावली बनेपछि भने नेपालमै पहिलो पटक निःशुल्क कलेजो प्रत्यारोपण भयो। दाताको करीब डेढ किलो तौलको कलेजोको एकतिहाइ भाग काटेर बिरामीको कलेजोमा जोडिने यो जटिल सेवा अब रु.१५ लाखमा नेपालमै उपलब्ध हुनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८ वर्षदेखि अल्झिएको 'अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली' १६ मंसीर २०७३ मा पारित गरेपछि कलेजो प्रत्यारोपण सहज भयो।

अब दुर्घटना वा अन्य कारणले 'ब्रेन डेथ' भएका मानिसको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने बाटो खुलेको छ। मुटु, कलेजो, मिर्गौला, फोक्सोलगायत आठ वटा महत्वपूर्ण अंगले काम गरिरहे पनि मस्तिष्क निष्क्रिय भइसकेको अवस्थालाई चिकित्साशास्त्रको भाषामा 'ब्रेन डेथ' भनिन्छ।

नियमावली अघि २०७२ माघमा अंग प्रत्यारोपण सम्बन्धी ऐन बनिसकेको थियो। त्यसअघि 'मानव अंग प्रत्यारोपण सम्बन्धी ऐन, २०५५' बनेको थियो, जसको अत्यन्त साँघुरो व्यवस्थाले नजीकका नातेदारलाई मात्र अंग दान गर्ने अनुमति दिएको थियो।

अंगदान सम्बन्धी कानूनलाई फराकिलोे बनाउन आठ वर्षसम्म अभियान चलाएका डा. श्रेष्ठ भन्छन्, “अब चाहिं हामीकहाँ संसारकै उत्कृष्ट कानून बनेको छ, नाता पर्ने सबैले अंगदान दिन सक्छन्।”

नेपालमा अंग प्रत्यारोपण
रूसका डा. सर्गेई फिलाटोभले सन् १९४० मा पहिलो पटक मृत शरीरबाट आँखाको नानी निकालेर जीवित मानिसमा सफल प्रत्यारोपण गरेका थिए।

त्यसको ५४ वर्षपछि सन् १९९४ मा नेपालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपण शुरू भयो, ढोकाटोल काठमाडौंकी चिनीमायाँ तुलाधरले वीर अस्पतालमा गरेको दानबाट। तिलगंगा आँखा प्रतिष्ठानका आई ब्यांंक प्रबन्धक शंखनारायण त्वाय्ना त्यो बेला मानिसहरूलाई आँखा दानबारे बुझाउन एकदमै गाह्रो भएको सम्झन्छन्।

विभिन्न संघ–संस्थाका कार्यक्रममा मात्र सीमित आँखाको नानी दान तथा संकलनलाई तिलगंगा आँखा प्रतिष्ठानले सन् १९९६ को अन्त्यतिर पशुपति आर्यघाटबाट शुरू गर्‍यो।

आर्यघाट र अन्य घाटहरू कुरेर बस्ने प्रतिष्ठानका कर्मचारीहरूले आफन्तहरूलाई कुरा बुझाएर शवको आँखाबाट नानी संकलन गर्थे। खुल्ला ठाउँमा झ्िक्दा संक्रमण हुने भएकाले पछि पशुपति विकास कोषसँग समन्वय गरेर छुट्टै ठाउँ बनाई व्यवस्थित रूपमा नानी झिक्न थालियो।

त्यसअघि सन् १९९४ मा विदेशबाट नानी ल्याएर प्रत्यारोपण गरिएको थियो। त्यो क्रम सन् १९९९ सम्म जारी रहेको त्वाय्ना बताउँछन्। विशेषतः आँखा फुलो परेर दृष्टिविहीन भएकाहरूमा गरिने प्रत्यारोपण सेवा अहिले नेपालभर फैलिएको छ। 

तिलगंगा आँखा प्रतिष्ठानले मात्र अहिलेसम्म साढे ११ हजार जनाको आँखामा नानी प्रत्यारोपण गरिसकेको छ। यसले नेपाल नानी प्रत्यारोपणमा सफल भइसकेको देखाउने त्वाय्ना बताउँछन्। प्रतिष्ठानले अन्य अस्पतालहरूमा पनि नानी पठाउँछ। मृतकको आँखाबाट निकालिने नानी जोसुकैमा प्रत्यारोपण गर्न सकिन्छ। 

नेपालमा आँखाको कर्निया प्रत्यारोपण भएको चार वर्षपछि सन् १९९८ मा निजी क्षेत्रको एभरेष्ट नर्सिङ होमले पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्‍यो। सन् २००४ मा वीर अस्पतालले गरेको मिर्गौला प्रत्यारोपणको प्रयास भने सफल भएन।

त्यसपछि सन् २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सफल भयो। सन् २०१३ बाट भने वीर अस्पतालमा पनि डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा मिर्गौला प्रत्यारोपण शुरू भयो।

वीरका मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्र अग्रवालका अनुसार, यस अस्पतालमा अहिलेसम्म ११८ जनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ।

दुवै मिर्गौला फेल भएका बिरामीमा गरिने प्रत्यारोपण नेपालमा बढ्दो छ। नेपालमा वर्षेनि करीब तीन हजारको मिर्गौला फेल हुने गरेको तथ्यांक छ। त्यस्तै, कलेजोका क्रोनिक बिरामीको संख्या पनि बढ्दो छ।

गत वर्ष निजी र सरकारी अस्पतालमा उपचारका लागि आएका करीब १० हजारमा 'क्रोनिक लिभर डिजिज्' देखिएको थियो। लिभर सिरोसिस् भएर पेटमा पानी जम्ने, नसा फुटेर रगत बगिरहने, पेटको पानीमा संक्रमण फैलने बिरामीमा कलेजो प्रत्यारोपण गरिन्छ। सिरोसिस, हेपाटाइटिस बी र हेपाटाइटिस सीले कलेजो फेल गराउँछ, जसको उपचारमा नेपाल सफल भएको छ।

मिर्गौला प्रत्यारोपण भएको चार वर्षपछि सन् २०१२ मा मुलुकमा बोनम्यारो प्रत्यारोपण पनि सफल भएको थियो, निजी क्षेत्रको नोबेल अस्पतालमा।

अहिले निजामती अस्पतालमा पनि यो सेवा उपलब्ध छ। अहिलेसम्म नोबेल र निजामती अस्पतालमा १६ जनामा बोनम्यारो प्रत्यारोपण भएको डा. विशेष पौडेल बताउँछन्।

उनका अनुसार, रक्त क्यान्सर, ए प्लाष्टिक एनेमिया, सिकलसेल एनेमिया, थालासेमिया जस्ता रगत सम्बन्धी रोगका बिरामीलाई बोनम्यारो प्रत्यारोपण गरिन्छ। ब्लड क्यान्सरका बिरामीको संख्या बढेपछि बोनम्यारो प्रत्यारोपण सेवा अत्यावश्यक भएको डा. पौडेल बताउँछन्।

कलेजो प्रत्यारोपणमा मिलेको सफलता टिकाउन स्वदेशी जनशक्ति उत्पादन गर्नतर्फ अग्रसर हुनुपर्छ। 
प्रा.डा. गणेश गुरुङ, संयोजक, मानव अंग प्रत्यारोपण समिति

टिकाइराख्ने चुनौती
बिरामीको बेकामे कलेजो पूरै निकालेर खाली ठाउँमा दाताको नयाँ कलेजो राख्ने प्रक्रिया ज्यादै जटिल हुन्छ। प्रत्यारोपण गरिएको नयाँ कलेजोमा पित्त र रगत नलीहरू जोड्नुपर्छ।

प्रत्यारोपण गरेको तीन वर्षमा कलेजोको ९५ प्रतिशत भाग पलाउँछ। वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार, कहिलेकाहीं दाताको नयाँ कलेजो बिरामीको शरीरले लिंदैन र दुर्घटना हुन्छ।

“कलेजो प्रत्यारोपण आफैंमा जटिल र ठूलो सर्जरी भएकाले सफलतासँगै टिकाइराख्ने चुनौती पनि थपिएको छ” शर्मा भन्छन्, “प्रत्यारोपण फेल भए यसमा मानिसहरूको विश्वास गुम्ने अर्को चुनौती छ।”

उनका अनुसार, कलेजो प्रत्यारोपण गरेका बिरामीहरूमा घाउ निको हुन समय लाग्ने, जहाँ छोयो त्यहीं रगत बग्ने र खाना नपच्ने जस्ता समस्या हुनसक्ने भएकाले यो सेवा आफैंमा चुनौतीपूर्ण छ।

त्यसमाथि, कलेजो प्रत्यारोपण सफल भए पनि नेपालमा भौतिक पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ। त्यही कारण, पहिलो कलेजो प्रत्यारोपणका लागि कोरियाली चिकित्सक टोली झिकाउनुपरेको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख श्रेष्ठ बताउँछन्।

मानव अंग प्रत्यारोपण समितिका संयोजक प्रा. डा. गणेश गुरुङ उपलब्ध जनशक्तिलाई पनि कलेजो प्रत्यारोपणमा सहभागी गराउन नसकिएको बताउँछन्। न्याम्सबाट कलेजो प्रत्यारोपण गर्ने दुई जना हेपाटोलोजिष्ट उत्पादन भएका छन् भने चारजना अध्ययनरत छन्।

कलेजो प्रत्यारोपणका लागि हेपाटोलोजीमा डीएम/एमडी गरेका जनशक्ति चाहिने भए पनि कलेजो प्रत्यारोपण सम्बन्धी नियमावलीले इन्टरनल मेडिसिनको अध्ययन पूरा गरी एमआरसीपी (मेम्बरसिप अफ दी रोयल कलेजेज् अफ फिजिसियन्स) तालीम गरेकालाई पनि प्रत्यारोपण गर्न सक्ने अधिकार दिएको छ।

“प्रत्यारोपण गर्न सधैं विदेशबाट जनशक्ति ल्याउन सकिंदैन”, गुरुङ भन्छन्, “सफलता टिकाउनका लागि स्वदेशी जनशक्तिलाई काममा लगाउन र आवश्यक जनशक्ति उत्पादन गर्नतर्फ अग्रसर हुनुपर्छ।”

प्रतिकृया दिनुहोस