प्रधानमन्त्रीद्वारा 'धान सुपरजोन' कार्यक्रम उद्घाटन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको ‘धान सुपरजोन’ कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले १९ पुषमा झापामा उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री दाहालले धान राप्ने मेशिन चलाएर झापाको बनियानीमा ‘धान सुपरजोन’ कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कोट, जुत्ता, टोपी सहितको पहिरन र गलाभरी सयपत्रीको माला लगाएका प्रधानमन्त्री धान रोप्न हिलोमा पस्दा किसानले ताली बजाए ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उत्पादकत्वमा बृद्धी गर्न नसक्दा अनाजको आयात बृद्धि भइरहेकाले उत्पादकत्व बढाउन सरकारले बिभिन्न स्थानमा बाली बिशेषका ‘सुपरजोन कार्यक्रम’ शुरु गरेको बताए ।
यस वर्ष धानको उत्पादन बृद्धी भए पनि यो आधुनिकीकरण र आधुनिकताको प्रभाव नभई मौषमी प्रभाव मात्र भएको बताएका प्रधानमन्त्री दाहालले दिगो उत्पादकत्व बृद्धीका लागि कृषिको आधुनिकीकरणका लागि सरकार प्रयास रहेको बताएका थिए ।
राजनीतिक प्रसंग उप्काउँदै उनले अब सवैले हठ नत्यागे सम्म राजनीतिक गतिरोधले निकास नपाउने भन्दै आफू काठमाडौं पुगे लगत्तै सवै दलहरुसँग परामर्श थाल्ने र संसदको अवरोध पनि हटाउने बताए ।
स्थानीय निर्वाचन गराउन आफू आतुर रहेको दाबी गर्दै उनले सबै दलहरुकै सहमतिमा निर्वाचन घोषणा गरिने र संविधान कार्यान्वयन यात्रालाई अघि बढाईने बताएका थिए ।
धान सुपरजोन परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले पूर्वी दक्षिणी झापाको पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र पथरीया गाविसमा लागु भएको धान सुपरजोन परियोजनाका लागि कृषि मन्त्रालयले रु ४ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
दशबर्षे परियोजनाको कुल लागत एक खर्ब ३० अर्ब रहेको छ ।
परियोजनाले कृषी यन्त्र, उन्नत मल बिउ किन्न र सीप वृद्धीमा सहयोग गर्ने छ ।
गोपाल गडतौला, झापा