सक्रान्ति बजारका अग्नी पीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले १ पुषमा भएको आगलागीवाट क्षतिग्रस्त तेह्रथुमको सक्रान्ति बजार पुनःनिर्माण र पुनःस्थापनाका लागि रु एक करोड उपलव्ध गराउने घोषणा गरेका छन् ।
घट्ना भएको १९ औं दिनमा सक्रान्ति बजार आइपुगेका प्रधानमन्त्री दाहालले भने, “आगलागीवाट क्षतिग्रस्त बजारको पुनःनिर्माण र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषवाट एक करोड रुपैयाँ उपलव्ध गराइनेछ ।”
यसबाहेक आगलागीवाट घर ध्वस्त भएका पीडित परिवारलाई प्रतिघर थप एक लाख रुपैंया सँगै खाद्यान्न र राहत सामग्री उपलव्ध गराउने उनले बताए ।
प्रधानमन्त्री दाहालले पीडितहरुलाई सम्बोधन गर्दै तेह्रथुमको आठराई क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानी व्यवस्थाका लागि सम्वन्धित मन्त्रालयलाई निर्देशन दिइने आश्वासन पनि दिएका छन् ।
यस्तै द्वन्द्वका समयमा तेह्रथुम जिल्लाका विभिन्न बजारवाट विस्थापित भएका कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकका शाखा पुनस्थापना, बहुचर्चित तमोर जलाशययुक्त आयोजना र पाँचथर र तेह्रथुम जोड्ने हाक्पारे घाटको निर्माणमा आदिमा भइरहेको ढिलाईका विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाई थियो ।
फरक प्रसंगमा वोल्दै प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलहरुले संकटपूर्ण घडीमा सहकार्य गर्दै मुलुकलाई निकास दिएको स्मरण गर्दै संविधान संशोधनका विषयमा भइरहेको सत्ता र विपक्षीहरुको धु्रविकरण चाँडै अन्त्य भएर संसद खुल्ने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री दाहालसँगै कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाले मुख्य सचेतक भानुभक्त ढकाल, सांसदहरु भवानी खापुङ, सीता गुरुङ र गणेश विमली पनि तेह्रथुप आएका थिए ।
लक्ष्मी गौतम, सक्रान्ति बजारबाट