शाखा अधिकृतमा ३० गुणा बढी आवेदन
लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा मागेको सङ्ख्याभन्दा अहिलेसम्म ३० गुणा बढीले आवेदन फाराम भरेका छन् ।
आयोगले ५०३ शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।
आयोगले २९ मंसीरमा शाखा अधिकृत तह विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थियो ।
आयोगले गत वर्षदेखि अनलाइन आवेदन स्वीकार्न थालेपछि उम्मेदवारहरुलाई सजिलो भएको छ ।
रासस