नारायणगढ–मुग्लिन सडकखण्ड अबदेखि साढे चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा उक्त सडक खण्ड थप आधा घन्टा बन्द हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएपछि हरेक दिन बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म सडक बन्द गरेर काम गर्न स्थानीय प्रशासनले निर्देशन दिएको हो । यसअघि ११ देखि ३ बजेसम्म मात्र सडक बन्द गरेर काम गर्ने गरिन्थ्यो ।
त्यसैगरी अत्यावश्यकको नाममा धेरै सवारी साधन बन्दका समयमा समेत छोडिंदा काममा अवरोध पुगेको भन्दै अबदेखि उक्त समयमा एम्बुलेन्सबाहेकका अन्य सवारी साधनलाई प्रवेश नदिने पनि जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
रोकिएका सबारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने छ । ठूला कन्टेनर भने रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न पाउने छन् ।
यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड भित्र कुनै सवारी साधन बिग्रिएमा २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदारलाई एक/एक थान स्काभेटर र पावरटेलर राख्न लगाइएको छ । सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ ।
जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० वटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले बताए ।
रासस