अर्को बैठक अवरुद्ध नहुने भन्दै समय मागिएपछि आजको संसद बैठक स्थगित
आजको व्यवस्थापिका संसद बैठक सूचना टाँस गरी स्थगित भएको छ ।
विपक्षी एमाले लगायतका दलहरुले अर्को बैठक अवरुद्ध नहुने भन्दै छलफलका लागि समय मागेकाले आजको बैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिएकी छन् ।
घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन, “ बिपक्षी सहित दलका नेताहरुले अर्को बैठक अबरुद्ध नहुने विश्वास दिलाउदै यो बीचमा छलफलका लागि समय मागेकाले आज सुचनाद्वारा संसद स्थगित भयो। ”
बैठक स्थगन गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलले २४ पुससम्मका लागि समय मागेपछि संसद् बैठक स्थगन गरिएको हो । मधेशकेन्द्रित दलले उठाएको माग सम्बोधन गर्न सरकारले गत १४ मंसीरमा संसद्मा संविधान सशोधनसम्बन्धी प्रस्ताव दर्ता गराएसँगै विपक्षी दलहरुले त्यसको विरोधमा निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।
संसदको अर्काे बैठक २४ पुस दिउँसो १ बजे बस्नेछ ।