कागजको पेन्सिल बनाउने सुधा
मुलुकलाई पेन्सिलमा आत्मनिर्भर बनाउन राजधानीका महिलाको सानो समूह खटेको छ।
चार वर्षअघि उत्पादन थालिएको कागजको पेन्सिल अहिले यूरोपलगायतका विभिन्न देशमा निर्यात हुन थालेको छ। 'वुमन्स् ड्रिम्स् मल्टी सर्भिस' का महिलाको एउटा सपना पूरा भएको छ। यो सपनाको सूत्रधार थिइन्, काठमाडौं, पानीपोखरीकी सुधा बस्नेत (५०)।
समसामयिक लेख र साहित्यमार्फत महिला सशक्तीकरणका मुद्दा उठाउँदै आएकी सुधालाई एक दिन अचानक लेखेर होइन, काम गरेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने लागेछ। त्यसका लागि महिला लक्षित सीपमूलक काम गर्ने उपाय सुझ्यो।
अनि उनले आफ्नो अगुवाइमा वरिपरिका महिला साथी संगठित गरिन्। समूहबाट सिलाइबुनाइ र बत्ती कात्ने जस्ता काम थालिन्। तर, केही नयाँ काममा हात हाल्न पाए हुन्थ्यो भन्ने हुटहुटीले उनलाई पेन्सिल उत्पादनतिर डोर्यायो।
अध्ययनपछि पेन्सिल उत्पादन गर्ने आत्मविश्वास पलायो। त्यसो त 'अझै दैलो उघारै छ', 'मायालु पीडाहरू' नामक दुई कथासंग्रह र 'छायाँसँगै हिंड्छु म त' गीतसंग्रहकी लेखिका सुधालार्ई पेन्सिलप्रतिको आकर्षण नौलो थिएन। तर, आफ्नो उत्पादनलाई कसरी नौलो भन्ने? सुधासामु चुनौती तेर्सियो।
किनभने बजारभरि पेन्सिल छ्याप्छ्याप्ती थिए। “सोधखोज गरेपछि बल्ल काठ होइन, कागजबाट पेन्सिल बनाउने उपाय सुझ्यो”, उनी भन्छिन्। त्यसपछि पहिल्यै संगठित महिलाहरूसँग मिलेर वुमन्स् ड्रिम्स मल्ट्री सर्भिस् गठन गरिन्।
पहिलो वर्ष मासिक १५ हजार पेन्सिल उत्पादन गरेको यो संस्थाले अहिले ७० हजार पेन्सिलको कारोबार गर्दै आएको छ। उत्पादन बेलायत, जर्मनी, रोमानिया, अष्ट्रेलिया, थाइल्याण्ड र जापानलगायतका देश पुगिसकेको छ। “हाम्रो आधा उत्पादन विदेशमै खपत हुन्छ, बजारको समस्या छैन”, उनी भन्छिन्।
स्वदेशी उत्पादन, त्यसमाथि पनि कागजबाट बनेको पेन्सिल देखेपछि सबैले रुचाएको सुधाको भनाइ छ। १५ जनाको बराबर लगानी रहेको संस्थामा अहिले ३५ जना महिला कार्यरत छन्। पेन्सिल रु.१०, १५, २० र २५ सम्म पर्छ। अहिले राजधानीका १० वटा विद्यालयका विद्यार्थीले यहींबाट पेन्सिल किन्छन्।
पेन्सिल कारोबारले गति लिन थालेपछि २०७१ पुसतिर संस्थाले रु.१० लाख खर्चेर प्रतिघण्टा एक हजार पेन्सिल उत्पादन क्षमताको स्वचालित मेशीन किन्यो। तर, १२ वैशाख २०७२ को भूकम्पमा संस्थाको उद्योग रहेको घर भत्कियो र मेशीन पूर्ण क्षति भयो। “नसोचेको क्षति भयो तर फेरि नयाँ मेशीन ल्याउने तयारी गरिरहेका छौं”, सुधा भन्छिन्।
मेशीनबाट उत्पादनको परिमाण बढे पनि बाँकी ८० प्रतिशत काम भने हातैले गर्नुपर्छ। लिड राख्ने, कागजले बेर्ने, अन्तिम रुप दिने र सुकाउने काम मेशीनले गर्दैन। सुधा भन्छिन्, “एक केजी कागजबाट करीब २०० पेन्सिल बनाउन सकिन्छ।” पेन्सिलमा कागजका साथै चाउचाउ, बिस्कुटलगायतका खोल पनि प्रयोग गरिंदै आएको छ।
फरक काम गर्ने रहरले वातावरण संरक्षणमा पनि सहयोग पुगेकोमा सुधा दंग छिन्। पेन्सिल र कागज बनाउन विश्वमा थुप्रै रूख काटिने थाहा पाएपछि यो काम गर्न अझ हौसला मिलेको उनको भनाइ छ।
नेपालमा भारत र चीनबाट पेन्सिल आयात गरिन्छ। स्वदेशमै पेन्सिल उत्पादन बढाएर पेन्सिलमा आत्मनिर्भर बन्नुपर्ने सुधाको भनाइ छ। १ देखि ५ कक्षामा अध्ययनरत ३० लाख बालबालिकाले नियमित पेन्सिल प्रयोग गरिरहेको बताउँदै भन्छिन्, “नेपालमा दैनिक एक लाख पेन्सिलको माग छ, यो ठूलो बजार हो।”
खेर गइरहेका कागज र अन्य सामग्रीको सहायताले हरेक जिल्लाका महिलाले हस्तकला उद्योगका रुपमा पेन्सिल उद्योग खोल्नुपर्ने सुधाको सुझाव छ। पेन्सिलबाहेक संस्थाले 'डम्बरकुमारी कपडा' र 'पेपर ब्याग' पनि बनाउँदै आएको छ। महिलालाई सीपमूलक तालीम पनि प्रदान गरिन्छ। सुधा भन्छिन्, “महिलालाई सक्षम बनाउने र स्वदेशी उत्पादनको प्रयोगमा जोड दिने सानो प्रयास सफल भइरहेको छ।”