सत्ता गठबन्धन र एमाले आआफ्नै अडानमा
सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विषयमा प्रमुख दलहरुबीच सहमति जुट्न सकेन । प्रस्तावको विषयमा छलफल गर्न १८ पुसमा सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी दलहरुले आआफ्ना अडान राखेपछि सहमति नजुटेको हो ।
काँग्रेस र माओवादी नेताहरुले एमालेलाई संसद खोल्न र एमालेले प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्ने र मुलुक निर्वाचनतिर जाने उल्लेख गरे ।
बैठकमा सहभागी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुङ्गो लागिनसकेको तर सहमतिका लागि वार्ता जारी राख्ने बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूहरु प्रतिपक्षीसँग मुठभेडको स्थिति सिर्जना नहोस् भन्ने पक्षमा रहेको बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रामचन्द्र पौडेल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।