ब्लगआइतवार, पौष १७, २०७३

यो मेरो टोपी हो…

केदार शर्मा

धोती र टोपीको न तुलना हुनसक्छ न ती एकअर्काका विकल्प हुन्। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, अर्को टाउको ढाक्ने। त्यसैले टोपी वा धोती भनेर तिनलाई ‘विरोधी खेमाका’ बनाउन जरूरी छैन।

तस्वीर: बिक्रम राई

म गोपाल योञ्जनको गीत गुन्गुनाउँदै लेखिरहेको छु, ‘मेरो टोपी कैलाशको शिर जस्तो, हिमालको भीर जस्तो…’

१ जनवरीलाई ‘नेपाली टोपी दिवस’ का रूपमा चलाउने चलन हलुकैसित चल्यो। परारसाल फेसबूकमा कसैले आह्वान गरेको देखें, हिउँदको दिन, यसै पनि कुनै न कुनै टोपी लगाइन्छ नै, मैले भादगाउँले टोपी ढल्काइदिएँ। पोहोर दोस्रो वर्ष, दर्जीले सिलाएको टोपी लगाएँ।

दर्जीले सिलाएको टोपी हिजोआज कम प्रचलनमा छ तर त्यो टोपी र त्यसका शिल्पीहरू बिर्सन सकिन्न। टाउको नापेर ‘उब्रेको कपडा’ बाट सिलाइदिने दर्जीहरूकै कारण टोपी नेपाली पहिरनको अङ्ग बनिरहन सकेको हो। यस्तो टोपी पोहोरै लगाइसकेकाले यो वर्ष चाहिं तेह्रथुमे सुब्बाकहाँ बुनिएको ढाका टोपीको पालो आयो।

केही दिनअघि एउटा नक्कल पुतली (म्यानिकिन) का टाउकामा ढाका टोपी देखें, आकर्षक लाग्यो। फोटो खिचें र ‘नेपाली टोपी दिवस, १ जनवरीको पूर्वसन्ध्यामा’ भनेर ट्वीट गरें, “पुतली नानीलाई त सुहाउने नेपाली टोपीले कसलाई नसुहाउला र?”

अपेक्षित नै थियो, प्रतिक्रिया आइहाल्यो, बोस्टन, अमेरिकामा बस्ने फोटोग्राफर विमल नेपालले लेखे, “टोपी नेपाली हो? अनि धोती नि?” उनको आशय थियो, दुवै पहिरन मौलिक नेपाली होइनन्, टोपीलाई मात्र किन यत्रो महत्व दिएको? ‘आफ्नो भाषा आफ्नो भेष’ को आत्मरतिबाट निस्किनुपर्छ आदि!

कसैले किन मनाउने टोपी दिवस? भन्दा मेरो चाहिं सबभन्दा सजिलो उत्तर हो, नमनाउने किन?

थप प्रश्न पनि आइहाल्दो रहेछ, धोती दिवस चाहिं किन नमनाउने? जवाफ अनेक हुनसक्छन्। प्रश्नकर्तालाई नै अनुरोध गर्न सकिन्छ, मलाई टोपी मनपर्छ त्यसैले टोपी दिवस मनाउनतिर लागें। तपाईंलाई धोती मनपर्ने रहेछ, धोती दिवसको थालनी गर्नोस्! नभए, आफ्नो कुनै प्रतिबद्धता नभएको विषयमा प्रश्न मात्र गर्नुको के अर्थ?

मधेशको सम्मानमा केही साथीहरूले केहीअघि काठमाडौंमा धोती जुलूस गर्दा त्यसलाई विवादमा तान्न कसैले खोजेन भने ‘१ जनवरीमा सबैले टोपी लगाऊँ’ भन्ने आह्वानको विरोध किन गर्नुपर्‍यो ?

ठूला प्रश्न जति पनि गर्न सकिन्छ, सानै भए पनि जवाफ फेला पार्ने पो पार्ने! माघेसंक्रान्ति आउँदैछ, प्रश्न गर्न सकिन्छ, अफ्रिकाबाट आएको तरुलको पर्व हुने, पेरुबाट आएको आलुको पर्व किन नहुने?

वास्तवमा धोती र टोपी जोडेर बनाइएको प्रश्नको कुनै अर्थ छैन। यी दुईको तुलनै हुँदैन। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, टोपी चाहिं टाउको ढाक्ने। ती एकअर्काका विकल्प हुनै सक्दैनन्, त्यसैले टोपी वा धोती भनेर तिनलाई ‘विरोधी खेमाका’ बनाउन जरूरी छैन।

‘धोती न टोपी हुनु’ भन्ने उखानको पनि संकेत हो यी दुवै कुरा एकसाथ लगाइन्छन्। धोती लगाउने मेरा हजुरबाहरूले ‘तयार नपरी’ अर्थात् धोती नलगाई भात खाएको मैले कहिल्यै देखिनँ। तर उहाँहरूको शिरमा टोपी कहिल्यै छुट्दैनथ्यो, खाना खाँदा बाहेक।

मधेशमा पनि धोती लगाउँछन् र आवश्यकता र चाहना अनुसार पाग वा पगडी वा टोपी जस्ता विभिन्न शिरपोसले टाउको न्यानो राख्छन् वा सजाउँछन्। धोती लगाउने भारतका अन्य भागमा पनि ठाउँ र चलन अनुसारका शिरपोस छन्।

कहाँबाट आयो टोपी?
टाउको छोप्न संसारभर हजारौं किसिमका शिरपोस छन्। स्थानीय सामग्री र सीपबाट निर्मित सबैका आ–आफ्ना किसिमका टोपी छन्।

मानव सभ्यता र संस्कृति विकासशील कुरा हो, त्यसैले त्यसमा अरूको सिको, प्रभाव वा नक्कल हुन पनि सक्छ। संसारका ८० प्रकारका टोपी देखाउने एउटा वेबसाइटले नेपाली ढाका टोपी संलग्न गरेको छ तर त्यसमा हाम्रोसित मिल्दाजुल्दा देखिंंदैनन्।

दक्षिणपूर्व एशियाली मुलुकमा चल्ने सोङकक वा काश्मिरदेखि काबुलसम्म चल्ने काराकुल हाम्रो टोपी जस्तै देखिन्छन्, तर झलक्क हेर्दा मात्र! हाम्रो टोपी बनावटको हिसाबले पनि ‘युनिक’ देखिन्छ।

नेपाली बृहत् शब्दकोशले ‘टुप्पो’ शब्दको मूलरूप संस्कृतको स्तूप हो भन्छ। टोपको मूल पनि त्यही देखाउँछ तर टोपीको मूल भनेर प्राकृतको ‘टोपिआ’ तिर औंल्याउँछ। संस्कृत मूलका धेरै शब्द अंग्रेजीमा पाइएका हिसाबले टुप्पाको अर्थ दिने अंग्रेजी शब्द ‘टप’ को मूल पनि स्तूप नै भएको अनुमान गर्न सकिन्छ।

शब्दका हिसाबले टोपी बाहिर कतैबाट आएको लाग्दैन। तर गम्भीर अध्ययन विना हाम्रो टोपीमा बाहिरी प्रभाव छैन भनेर दाबी गर्न आवश्यक छैन। हामी कोही पनि ‘यही माटामा उब्जिएका’ होइनौं र बसाइँ सर्दै आउने क्रममा कतैबाट केही ल्याइयो, कतैबाट के।

खल्ती र बगली दुवै फारसीबाट आएका शब्द हुन्। सुरुवाल समेत फारसी हो। अर्काको प्रभावका कुरा छाड्ने हो भने हामी नाङ्गै–बुङ्गै हुनसक्छौं। त्यसैले अहिले जे हामीकहाँ छन् ती हाम्रा हुन्।

टोपी सजिलो छ, छरितो छ। पहाडमा धोती बाहुन हुनु वा ‘चोखोपन’ सित जोडियो। सजिलोका लागि घटेर कछाड भयो र थप सजिला लुगा आएपछि दैनिक व्यवहारबाट हट्दै गयो। अलि औपचारिक र असजिलो भएकाले दौरा–सुरुवालको प्रयोग पनि बढेन। तर टोपीलाई कुनै पनि ‘क्यापटोपी’ ले प्रतिस्थापन गर्न सकेन र यसको प्रयोग बढ्यो।

कतिसम्म भने ‘शासकहरूको पोशाक’ भनेर दौरा–सुरुवाल नलगाउने माओवादी नेताहरूले पनि टोपी छाड्न सकेनन्। पूर्वराष्ट्रपति रामवरण यादवले जुनसुकै पोशाकमा पनि टोपी लगाउनुको कारण पनि यसको नेपालीपनसित जोडिएको छवि नै हो।

कसैले पनि कसैका करले कुनै लुगा लगाइरहँदैन। भारतीयहरूले कुर्तालाई जसरी लोकप्रिय बनाउन सके, हामीले दौरा–सुरुवाललाई सकेनौं। उनीहरूले कुर्तालाई पहिले सुरुवालबाट छुट्टिने ‘अनुमति’ दिए, जिन्ससित जोडिने स्वीकृति दिए। लामा, छोटा, सादा, बुट्टे– थरीथरीका बनाए।

हाम्रो दौरा–सुरुवाल बहुउपयोगी र लचिलो भएन र फैलिएन। तर टोपी पसिना पुछ्ने र भुटेको मकै–भटमास खानेदेखि नक्कल पार्ने र शान दिनेसम्मको प्रयोगमा आयो।

मैले १ जनवरीमा नेपाली टोपी लगाएँ तर ‘लगाउनुपर्छ’ भनिनँ। करमा पारे पो नराम्रो, मतो मिलेर रमाए के बिग्रियो?

पुस २०७२ मा प्रकाशित यो लेख सान्दर्भिक लागेर पुन प्रकाशित गरिएको हो ।

 

प्रतिकृया दिनुहोस