बुटवलः एक महिलाको हत्या
बुटवलको कालिकानगरमा गएराति एक महिलाको हत्या गर्ने ब्यक्तिकौ अझै पहिचान हुन सकेको छैन ।
रुपन्देहीको तिलोत्तमा घर भई कालिकानगरमा डेरा गरी बस्ने ४० वर्षीया कमला न्यौपानेको डेरामै रहेका बेला २७ साउन राति हत्या भएको थियो ।
न्यौपानेको शव कोठामा रहेको सानो बक्स पलङभित्र घाँटीमा विजुलीको तार बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
न्यौपाने विगत केही वर्ष यता ‘ढुकुटी’ खेलाउने काममा सक्रिय थिइन् ।
दिनभर बजारबाट ढुकुटी रकम संकलन गरी साझ घर फर्केकी उनी राति पलङभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
जुत्ताका होलसेल व्यापारी उनका पति नित्यानन्द न्यौपाने त्यसदिन बिहानै काठमाडौं गएका थिए । फुपुलाई राति साथ दिन गएका कमलाका दाजुका छोरा रेविकले उनलाई कोठामा नदेखेपछि खोजवीन थालिएको थियो ।
हत्याको कारण र संलग्न अभियुक्तको खोजी भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक राजु कार्कीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
मृतकले लगाएका औंठी, बाला, सिक्री लगायतका गर–गहनासमेत छैनन् भने घरभित्रका अन्य धनमाल भने सुरक्षित छ ।
दीपक ज्ञवाली, बुटवल