मनाङ र मुस्ताङमा हिमपात
मनाङ र मुस्ताङमा यस वर्ष पहिलो पटक आज दिउँसोदेखि हिमपात भएको छ ।
मनाङको सदरमुकाम चामेसहित तिमाङ भन्दा माथिका क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भएको स्थानीय मीनकाशी गुरुङले जानकारी दिईन् ।
यस्तै, मुस्ताङ सदरमुकाम जोमसोमसहित कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, घमी, सुर्खाङ, चराङ, लोमान्थाङ लगायतका स्थानमा हिमपात भएको छ । म्याग्दीसँग सीमा जोडिएको लेते गाविसमा पनि हिमपात भईरहेको छ ।
हिमपातका कारण मनाङ र मुस्ताङ दुबै जिल्लामा यातायात सेवा प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपातसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ ।
हिमपातका कारण मनाङ र मुस्ताङ पुगेका र पुग्न चाहने पर्यटकहरुले यात्रा रोकेका छन् ।
-युवराज श्रेष्ठ