ब्लगआइतवार, पौष १७, २०७३

अक्षरका अथक साधक

हिमालखबर

रघु पन्त

तस्वीर: हिमाल अर्काइभ

नेपाली भाषा साहित्यका अविश्रान्त साधक कमलमणि दीक्षितलाई कसरी जीवित बनाइराख्ने भन्ने जिम्मा हाम्रो पनि हो ।

“दाइ, कमलमणिजी बित्नुभो, म त आर्यघाट आइपुगिसकें । तपाईंलाई थाहा भएन कि क्या हो ?” अर्पण शर्माले यति भनेपछि म झसंग भएँ । मोबाइल यसो हेरेको त उहाँ बित्नुभएको मेसेज आइसकेको रहेछ ।

एकछिन त अन्यमनस्क, के भए के भए जस्तो भएछु । हतार–हतार पशुपतितिर लागें । परिवारका सदस्यहरूका साथै साहित्य क्षेत्र र शुभचिन्तकहरु गौशाला पिंगलस्थानस्थित विद्युत शवदाह गृह पुगिसकेका थिए । सबै उदास थिए । घाटबाट फर्किसकेपछि पनि दिनभरि नरमाइलो र शून्य अनुभूति भइरह्यो ।

कमलमणिजीले जस्तो जीवन जिउनुभयो त्यो महत्वपूर्ण, सम्मानित र अत्यन्त सक्रिय जीवन थियो । नेपाली भाषा र साहित्यको संकलन, सम्वद्र्धन र संरक्षणको लागि उहाँले आफ्नो जीवन अर्पनुभयो । लेखक, सम्पादक, अनुसन्धाता, प्रेरक, संकलकलगायत अनेकौं महत्वपूर्ण भूमिकामा उहाँ खरो उत्रनुभएको थियो ।

“नेपाली भाषाका पुस्तक र पत्रपत्रिका मात्र हैन नेपाली भाषाका निम्तो कार्ड, पर्चा समेत नफालीकन मदन पुरस्कार पुस्तकालयमा पठाइदिनुभयो भने हामी संरक्षण गरेर राख्छौं”, उहाँले यसो भनेपछि म त्यसै गर्न थालेको थिएँ ।

आफ्नो संकलनमा रहेका कतिपय पुराना पुस्तक, पत्रपत्रिकाहरूको उपयोग र संरक्षण पुस्तकालयमा राम्रोसँग हुने ठानेर मात्र होइन उहाँको भनाइ सम्झेरै नेपाली भाषाका निम्तो कार्ड र पर्चाहरू जम्मा पार्न शुरु गरेको थिएँ । उहाँ धन्यवादसहित थप प्रेरित गर्नुहुन्थ्यो ।

चिनजानको करीब दुई दशकमा मैले जहिले पनि उहाँलाई कुनै न कुनै नयाँ योजना बनाइरहने र क्रियाशील भइरहने खूबी भएको चिन्तनशील व्यक्तित्वको रुपमा पाएँ । उहाँ पुत्रवत् स्नेह दिएर पितृवत् व्यवहार गर्नुहुन्थ्यो । त्यसैले पनि यतिबेला मलाई अभिभावक गुमाएको जस्तो अनुभूति भइरहेको छ ।

साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि कमलमणिले शुरु गर्नुभएको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको ऐतिहासिक महत्व आफ्नो ठाउँमा छँदैछ तर मदन पुरस्कार पुस्तकालय भने नेपाली भाषा साहित्यको अमूल्य धरोहर र पवित्र मन्दिरका रुपमा रहिरहनेछ ।

पुस्तकालयको संस्थापकका रुपमा पनि उहाँ नेपाली भाषा साहित्य रहुन्जेल नेपाली जनमनमा जीवित रहनुहुनेछ ।

पाटनढोकाको छेवैमा रहेको दीक्षित कम्पाउण्डभित्र पस्दा हामीलाई हँसिलो अनुहार र रसिलो व्यवहारले स्वागत गर्ने उहाँको अभाव सदा खट्किरहनेछ । तर, उहाँकै श्रम र लगानीमा खडा भएको मदन पुरस्कार पुस्तकालयलाई हेरेर भए पनि चित्त बुझाउनुपर्ने भएको छ ।

नेपाली भाषा र साहित्यको विकासमा कमलमणिले पुर्खाबाट पाएको उत्तराधिकारलाई निकै विस्तारित रुप दिनुभएको थियो । उहाँका दुवै छोरा कुन्द र कनकमणिले पुख्र्यौली ‘कलम’ चलाउने काम र अक्षरको सेवालाई नै निरन्तरता दिएका छन् । छोरी रुपा जोशीको कलम समेत स्वादिलो रुपमा बेलाबेलामा देखापर्ने गर्छ ।

त्यसैले कमलमणि दीक्षित अर्थात् ‘दादाजी’ को सपनालाई कसरी मूर्तरुप दिंदै अघि बढाउने भन्ने कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ ।

तर पनि नेपाली भाषा र साहित्यको लेखन, संकलन, अनुसन्धान र संरक्षणमा व्यक्ति मात्र होइन संस्थाकै रुपमा रहेका कमलमणिजीको सम्झनामा कस्तो रचनात्मक कार्य अघि बढाउने भन्ने जिम्मा हाम्रो पनि हो । सरकारी निकायहरूले उहाँलाई सम्झे र केही गर्न सके त झनै राम्रो ।

मन कटक्क काटिने कुरा, ‘दादाजी सञ्चै हुनुहुन्छ ? नमस्कार’ भनेर अब कसलाई भन्नु ?

प्रतिकृया दिनुहोस