दादा, त्यहाँ इमेल चल्दैन ?
कताबाट थालौं, दादाले निधन हुनुभन्दा ८० घन्टा अघि लेखेको इमेलबाट ? पहिलो परिचयबाट ? पछिल्लो भेटबाट ? २०४६ साल चैतमा त्रिचन्द्र क्याम्पस परिसरमा मुखमा कालोपट्टी बाँधेर सपत्नी बसेको, पक्राउ खाएको र केही घन्टाको बग्गीखानाको थुनामा गरेका हास–परिहासका प्रसङ्गबाट ? साहित्य र भाषाबारे हामीले बनाउने गरेका गजब गजबका योजनाबाट ? उहाँबाट पाएका अविस्मरणीय प्रेरणाबाट ? उहाँ इलाममा हाम्रो घर पुगेको कुराबाट ?
यहाँ सबै कुरा सम्भव छैन । त्यसमाथि एकजना आदरणीय र प्रिय व्यक्तिको निधनपछि चल्ने स्मृतिहरूको भुमरीबाट म अझै मुक्त हुनसकेको छैन ।
१३ पुसको मध्याह्न अघि नै दादाको अवस्था चिन्ताजनक भएको थाहा पाए पनि काठमाडौंतिर हिंडिहाल्न नमिल्दा मलाई काठमाडौं र इलामको दूरी डब्लिए जस्तो लाग्यो । त्यस दिनको रात्रिबसमा हिंड्न सकिनँ । १४ गते बिहानैको माइक्रोबसको पनि टिकट पाइनँ । पाएकै भए पनि अन्त्येष्टि समेत नभेट्ने रहेछु ।
कमलमणि आचार्य दीक्षित, कमल दीक्षित र प्रियजनका दादाका बारेमा धेरै कुरा धेरैलाई पहिले नै थाहा थियो । थाहा नहुने र खासै मतलब नहुनेहरूलाई समेत १४ पुसयता धेरै कुरा थाहा भइसक्यो । त्यसैले मैले लेख्ने कुरा अलि व्यक्तिगत, भावनात्मक, अमूर्त र विश्रृंखलित पनि लाग्न सक्छन् ।
म हालसाल उहाँको प्रकाशोन्मुख किताब हाम्रो खाल्डो मा काम गरिरहेको थिएँ । अघिल्लो पटक काठमाडौंबाट फर्किने दिन, २८ मंसीर बिहान उहाँलाई भेट्न बी एन्ड बी अस्पताल गएँ । म पुग्दा रूपाजी (उहाँकी छोरी) श्वासप्रश्वासको कसरत गराउँदै हुनुहुन्थ्यो । भलाकुसारी छोटो तर महत्वपूर्ण भयो ।
मदन पुरस्कार पुस्तकालयबाट गर्ने भनेर हामी (मपुपुको टोली) ले सोचेको एउटा फोन एप्लिकेशन, एउटा प्रवचनमाला र एउटा सेमिनारको कुरा सुनाएँ । उहाँ एकदमै उत्साहित हुनुभयो र भन्नुभयो, “त्यो एपको काम चाहिं थालिहाल्नुस्, चाहिने पैसा जुटिहाल्छ ।”
अनि हाम्रो खाल्डो को कुरा गरें । उहाँले भन्नुभयो, “आफ्नो गुजाराको, आर्जनको, दालभातको काम चाहिं पहिले गर्नुस् है, अनि मात्र अरू ।” रूपाजी र मैले हाँसेर प्रतिक्रिया दियौं ।
दादाकै भनाइ माने जसरी बीचमा गुजाराको काममा लागें । ७ पुसमा मैले किताबको भूमिकाको मस्यौदा रूपाजीलाई पठाएँ । तर प्रतिक्रिया दादाबाट आयो । उहाँ त घर फर्केर काममा लागिसक्नुभएको रहेछ ।
अनि केही इमेल आए, गए ।
१० पुस साँझ सवा ६ बजे मेरो फोनले नयाँ इमेल आएको सङ्केत गर्यो । दादाको इमेल रहेछः
प्रिय केदारजी,
पहिलो अध्याय राम्रो भएछ । धन्यवाद ! तर, साइड साइडमा लेखका ‘डिजाइनहरू’ कसरी भर्ने ? पीर लाग्यो ।
ती जापानी वैज्ञानिकको बारे डा. तीर्थबहादुरसँग सोध्नुपर्छ । मलाई त्यो नाम दिने उहाँ नै हो ।
दादा ।
दङ्ग परें । दादाले राम्रो भनेकोमा होइन, उहाँलाई मन पर्ने गरी काम गर्न सकेकोमा । उहाँले पीर मानेको कुरा, साइड साइडमा लेखका ‘डिजाइनहरू’ कसरी भर्ने ? भन्ने चाहिं मैले आवश्यकता अनुभव गरेका ग्राफिक्सको सूची थियो । त्यो प्रकाशन संस्थाको जिम्मेवारीको कुरा हुन्थ्यो ।
अनि मैले अर्को अध्याय पठाएँ । त्यसको भने जवाफ आउन भ्याएन ।
भन्न खोजेको कुरा हो, उहाँ अन्तिम समयसम्म पनि किताब लेखिरहनुभएको थियो, त्यसबारे पीर मानिरहनुभएको थियो र इमेलबाट सम्पादकसित सम्पर्क गरिरहनुभएको थियो ।
दादालाई प्रविधिमा गहिरो विश्वास र चाख थियो भन्ने कुरा उहाँले ६७ वर्षको उमेरमा कम्प्युटर चलाउन सिकेको थाहा पाउने र चलाएको देख्नेहरूलाई थाहा थियो । कम्प्युटर मात्र होइन, उहाँ सबै प्रविधिलाई महत्व दिनुहुन्थ्यो ।
उहाँलाई मपुपुले पुराना र महत्वपूर्ण सामग्रीको माइक्रोफिल्म गर्नुपर्छ भन्ने लाग्यो । माइक्रोफिल्म गर्ने मेसिन त बजारमा पाइन्थ्यो, किन्दा आउँथ्यो, आयो, काम भयो ।
उहाँमा चालीसको दशकको प्रारम्भदेखि नै त्योभन्दा जब्बर चाहना आयो, यतिका किताबको क्याटलग नेपालीमा राखेर भएन, कम्प्युटरमा राख्नुपर्छ ।
तर कम्प्युटर किन्दैमा त्यो काम हुँदैनथ्यो । किताबको नामसम्म त लेख्न सकिन्थ्यो, तर न नेपाली किताब वा लेखकको नाम वर्णानुक्रममा लेखेर खोज्न अर्थात् ‘सर्च गर्न’ सकिन्थ्यो, न त भरपर्दो अभिलेख राख्न नै ।
कारण थियो, देवनागरी लिपि बुझने प्रविधि विकास नहुनु । मपुपुमा सङ्कलित किताबको अभिलेख तयार गर्न निकै खर्च र दुःख गरेर पनि उपाय नलागेपछि, मपुपुकै अग्रसरतामा ‘फन्ट स्ट्यान्डराइजेशन कमिटी’ बन्यो ।
त्यसैको निरन्तरतामा अमर गुरुङको टोली युनिकोड कन्सोर्टियम नामक विश्वका लिपिहरूमा काम गरिरहेको संस्थाको सम्पर्कमा पुग्यो र २००२ मा युनिकोड मापदण्ड अनुसार नेपाली युनिकोड कीबोर्ड लेआउट तयार भयो । हामी कम्प्युटरले बुझने भाषामा नेपाली लेख्न सक्ने भयौं ।
नेपाली युनिकोड नेपालीलाई नेपाली लेख्न सिकाउने र सघाउने निर्विकल्प उपाय भयो । सबै काम नेपालीमा गर्न सम्भव भएपछि उहाँकै सहमतिमा हामीले नारा घन्कायौं, “नेपालीले नेपालीलाई नेपालीमा लेखौं !”
अस्पतालमा, मेरो अन्तिम भेटमा दादाले भन्नुभएको थियो, “अब पचास वर्षपछि लोकले बुझ्नेछ, नेपाली भाषा जोगाउन र जगाउनमा मपुपुको के योगदान छ भन्ने कुरा !”
हामी कहिलेकाहीं एकअर्कासित असहमत भइरहन्थ्यौं । जाँदाजाँदै दादाले असहमत हुने अर्को ठाउँ दिएर जानुभयो । तर मैले भन्न पाइनँ, “होइन दादा, ५० वर्ष कुर्नै पर्दैन । लोकले बुझेको रहेछ, मपुपुमार्फत तपाईंले गरे–गराएको काम । तपाईं हिंड्ने बित्तिकै अभिव्यक्त भावनाहरू हेर्नुस् त, कस्तो गुणग्राही रहेछ नेपाली समाज !”
दादा, त्यहाँ इमेल चल्दैन ?