सीमांकन बाहेकका विषयमा छलफल गर्न एमाले तयार: सचिव ज्ञवाली
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सीमांकनलाई थाँती राख्ने हो भने संविधान संशोधन विधेयकका बाँकी बुँदामा छलफलका लागि एमाले तयार रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले प्रदेशको सिमांकन संशोधन गर्ने कुरा संघीयताको सिद्धान्त र संविधान विपरित भएको बताउँदै त्यसबाहेकका तीन वटा विषयमा संसदमा छलफल गर्न एमाले तयार रहेको र मतदानबाट आउने परिणाम स्वीकार हुने बताए । उनले भने, “तर सिमांकनको विषयमा एमालेले कम्प्रोमाईज गर्दैन्।”
संशोधन विधेयकमा उल्लेख गरिएको सिमांकन हेरफेर संविधान विपरित भएको दाबी गर्दै उनले पहाड र मधेशलाई अलग गर्ने काम कुनै हालतमा स्वीकार्य नहुने बताए ।
उनले संशोधन विधेयकलाई थाँती राखेर अविलम्ब निर्वाचन सम्बन्धी विधे कहरुलाई अघि बढाउन समेत सरकारसँग माग गरे।
“प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विधेयक अघि बढेको ? एमालेले संसद अवरुद्ध गर्दा काम गर्न पाईएन भन्नुभएको हो भने, संशोधन विधेयक त मंसीर १४ गते दर्ता भएको हो नि ।”
उनले निर्वाचनसम्बन्धी विधेयकहरु ‘फाष्टट्रयाक’बाट भएपनि अघि बढाएर भए पनि पारित गर्दै चुनावको मिति घोषणा गरेर संविधान जारी गर्दाका शक्तिहरुलाई पुनः एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए।