रुपसी रुपाकोट
- युवराज श्रेष्ठ, पोखरा
वर्षौं बेल्जियम बसेका पुष्पराज अधिकारीले जन्मेहुर्केको गाउँलाई गज्जबको उपहार दिएका छन्– रुपाकोट रिसोर्ट।
अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलाको काख। आँगनमै रुपा र वेगनास ताल। छिनछिनमा रङ फेर्ने सूर्योदय र सूर्यास्त। चारैतिर हरियाली। नजिकै पोखरा शहर र विशाल फाँटहरू। नागबेली पहाड अनि थुम्काहरू।
जति गरे पनि भुल्न नसकेपछि पुष्पराज अधिकारी (५२) पोखराबाट बढीमा एक घण्टामा पुग्न सकिने जन्मथलो रुपाकोट गाउँ फर्किए। नेपालमा माओवादी सशस्त्र हिंसा शुरु भएकै वर्ष २०५२ सालमा अधिकारी यूरोपको बेल्जियम पुगेका थिए।
कमाइ राम्रो, परिवार सुखी थियो। स्वदेश नफर्कनेबारे पटक–पटक नसोचेका पनि होइनन्। तर, संसारकै सुन्दर भनिने ठाउँहरू पुग्दा पनि उनलाई रुपाकोट जस्तो सुन्दर कहीं लागेन। त्यसैले पाँच वर्षअघि उनी गाउँ फर्किए।
फर्किएलगत्तै उनले पोखराबाट पश्चिम उत्तरको रुपाकोट–६, मैदानको उजाड खरबारीमा लगानी गर्न थाले। बाल्यकालमा त्यही खरबारीबाट रुपातालतर्फ कागजको रकेट उडाएको उनलाई अझै सम्झना छ।
खरबारीमा पैसा खन्याएको देख्दा गाउँलेहरू अचम्मित हुन्थे। तर, त्यो त रुपाकोट रिसोर्टको थालनी थियो। “नेपालको सुन्दरता हेर्ने रुपाकोट एउटा ठाउँ हो भनेर मलाई प्रमाणित गर्नुछ”, उनी भन्छन्।
बेल्जियममा रेस्टुरेन्ट र ट्राभल एजेन्सी चलाएका अधिकारीले उतै हुँदा पनि नेपाल एकपटक पुग्न पर्यटकलाई आग्रह गरिरहन्थे। “बेलाबेला 'रिचार्ज' हुन म आफैं पनि आइरहन्थें।” उनी भन्छन्, यहाँ फर्कनुअघि नै अधिकारीले रुपाकोट रिसोर्टको योजना बुनिसकेका थिए। देश–विदेशका साथीहरूलाई लगानीका लागि रुपाकोट ल्याए। रुपाकोट देखेर जो–कोही मोहित नहुने कुरै थिएन।
चारवर्षअघि दुई सय रोपनी जग्गामा निर्माण शुरु गरिएको रुपाकोट रिसोर्टमा हालसम्म रु.५० करोड खर्च भइसकेको छ। रिसोर्टमा गाउँले पाराका आठ वटा घर बनाइएका छन्, जहाँ ८४ जनासम्म बस्न सक्छन्।
पार्किङ, स्वीमिङ पुल, गार्डेन र दुईवटा हेलिप्याडसमेत तयार भइरहेका छन्। “रिसोर्टका सबै संरचना निर्माण सकिंदा रु.१ अर्ब खर्च हुने अनुमान छ”, अधिकारी भन्छन्। रिसोर्टसँगै रुपाकोट क्षेत्रमा ट्रेकिङ र हाइकिङ पनि शुरु भएको छ। पर्यटकको आकर्षण बढ्दो छ।
'नपर्ख, फर्क'
वर्षौं विदेश बसेको मान्छेले गाउँको खरबारी सम्याएर रिसोर्ट बनाउने काम पक्कै सहज थिएन। मुलुकको राजनीतिक अस्थिरताका कारण लगानी खेर जाने जोखिम पनि थियो। तर, अधिकारी जोखिममै सम्भावना खोज्न आए। उनी भन्छन्, “अस्थिरताको कारण नै विकास नहुनु हो, समृद्धिसँगै खिचातानी मत्थर हुन्छ भन्ने मेरो विश्वास हो।”
त्यसो त रिसोर्ट बनाउँदा उनले कम दुःख पाएनन्। सबैभन्दा बढी त सरकारी तहबाटै असहयोग भयो। “स्वदेशमा केही गर्छु भन्नेलाई सकेसम्म हतोत्साही बनाउन खोजियो”, उनको अनुभव छ।
तर, अधिकारीले हिम्मत हारेनन्। कठिनाइ पर्दा आफूले अंग्रेजी भनाइ 'आत्मविश्वासले भरिएको मानिस शक्तिशाली सिपाही जस्तै हो' स्मरण गरेको उनी बताउँछन्। रिसोर्टसँगै अधिकारी यतिबेला गाउँकै विद्यालयमा पुस्तकालय भवन पनि बनाइरहेका छन्। आमा समूह, युवा क्लबलगायतलाई पनि सहयोग गरिरहेका छन्।
'रिसोर्टले केही गाउँलेलाई रोजगार दिएर हुँदैन। उद्यमी बन्न सिकाउनुपर्छ', अधिकारी शुरुआतदेखि नै प्रष्ट थिए। “किनभने रोजगारले होइन, उद्यमशीलताले चमत्कार गर्छ”, उनको तर्क छ।
त्यसैले पनि उनी किसानलाई दूध, तरकारीलगायत उत्पादन रिसोर्टमा ल्याएर बेच्न प्रोत्साहन गरिरहेका छन्। खरबारीमा रिसोर्ट बनेपछि गाउँलेमा पनि आत्मबल जागेको छ। गाउँलेहरू तरकारी खेती, कुखुरापालन, फलफूल खेतीतर्फ आकर्षित भएका छन्।
थुप्रै गैरआवासीय नेपाली नेपाल फर्कन चाहेको तर 'पर्ख र हेर' को अवस्थामा रहेको उनी बताउँछन्। “तर, म भने पर्खेर हेर्नेको विपक्षमा छु, त्यसैले रुपाकोट फर्केको हुँ”, उनी भन्छन्।