रिपोर्टशनिवार, पौष १६, २०७३

जडीबुटी तस्करी: फुक्काफाल उत्तरी सीमा

हिमालखबर

- प्रकाश सिंह
चीनसँग सीमाना जोडिएका हुम्ला, डोल्पा, बाजुरा र बझाङका खुला नाका तस्करीको लागि स्वर्ग बनेका छन्।

खच्चड र घोडालाई बोकाएर हुम्लाको केरनी–हिल्साहुँदै अवैध रुपमा चीनतर्फ जडीबुटी लगिंदै। तस्करीको यस्तो दृश्य दैनिक देखिने गर्दछ। तस्वीरहरुः प्रकाश सिंह

खच्चड र घोडालाई बोकाएर हुम्लाको केरनी–हिल्साहुँदै अवैध रुपमा चीनतर्फ जडीबुटी लगिंदै। तस्करीको यस्तो दृश्य दैनिक देखिने गर्दछ।
गएको १६ मंसीरमा उत्तरी बाजुराको बिच्छ्यामा भेटिएका व्यापारी पदमबहादुर शाहीले यस भेगमा संकलित जडीबुटी कोल्टीहुँदै नेपालगञ्ज जाने 'वैध बाटो' भए पनि हुम्लाहुँदै चीनतिर तस्करी भइरहेको बताएका थिए।

तर, बाजुरा जिल्ला प्रहरी र वन कार्यालयको संयुक्त टोलीले २७ मंसीरको बिहान दानसाँगुमा र त्यही दिनको बेलुका कोल्टीमा ठूलो परिमाणको जडीबुटी बरामद गर्‍यो, जुन नेपालगञ्ज लैजान लागेको अवस्थामा पक्राउ गरिएको बाजुरा जिल्ला प्रहरी प्रमुख डीएसपी दलबहादुर बोगटीले बताए। 

ठेकेदारहरूले ९ हजार सातसय किलो जटामसी, कटुकी र चिराइतो संकलन इजाजत लिएर ३८ हजार ८८० किलो निकासी गर्न लागेको अवस्थामा पक्राउ गरिएको डीएसपी बोगटीले बताए। बरामद गरेर इलाका वन कार्यालय कोल्टीमा राखिएको जडीबुटीको अनुमानित मूल्य डेढ करोड रुपैयाँ छ।

बाजुरामा यति ठूलो परिमाणमा जडीबुटी नियन्त्रणमा लिइएको पहिलो पटक हो। यो घटनाले उत्तरी नाकाबाट मात्र नभई दक्षिणतिर पनि ठूलो परिमाणमा जडीबुटी तस्करी भइरहेको देखाएको छ। पक्राउ परेको जडीबुटीका ठेकेदारहरूको नाम अहिल्यै भन्न नमिल्ने जिल्ला वन कार्यालय बाजुराका प्रमुख डीएफओ विजेन्द्र सुवेदीले बताए।

अर्बौंको धन्दा
हुम्ला, मुगु, बझाङ र डोल्पा जिल्लाको उत्तरमा हिल्सा, टाँके, चुँवाखोला, लिमी, ल्हाम्हे, छङरा, नाक्चेलाग्ना, खगालगाउँ, मासपुर, खुङखोला र उरैभञ्ज्याङ नाका छन्।

यीमध्ये हिल्सा, टाँके, चुँवाखोला, लिमी, मासपुर र खगालगाउँ हुम्लामा, नाक्चेलाग्ना मुगुमा, ल्हाम्हे, छङरा, खुङखोला डोल्पामा, उरैभञ्जाङ नाका बझाङमा पर्छन्। भौगोलिक रूपमा अति विकट यी नाकामध्ये सरकारले हिल्सा मात्र खुला गरेको छ। प्रशासनिक उपस्थिति भने कतै छैन।

जिल्ला सदरमुकामहरूबाट सातदेखि नौ दिनसम्म हिंडेर पुगिने यी नाकाहरूमा तस्करराज छ। उनीहरूले बहुमूल्य जडीबुटी संकलन गरेर सुकाउने र पोको पार्ने काम यहीं गर्छन्।

यो सिजनमा सीमा क्षेत्रमा जति अस्थायी टहरा देखिन्छन्, ती सबै जडीबुटी तस्करकै हुन्। यहाँबाट खच्चड, भेडा र भरियाको ताँती लगाएर ठूलो परिमाणमा जडीबुटी तिब्बत लगेको देखिन्छ। हुम्ला, डोल्पा, बाजुरा, बझाङ र मुगुबाट वर्षेनि कति रुपैयाँको जडीबुटी, रक्तचन्दन र वन्यजन्तुको आखेटोपहार तस्करी हुन्छ, कसैले भन्न सक्तैन।

हिमालले बाजुराको बिच्छ्यामा कुरा गरेका होटल संचालक र केही व्यापारीले यस क्षेत्रबाट अर्बौं रुपैयाँको सतुवा, वनलसुन, पाँचऔंले, जटामसी, कटुकी, भुत्लेलगायतका जडीबुटी तिब्बत तस्करी हुने बताए।

यस क्षेत्रमा हरेक वर्ष सरकारी र सामुदायिक वनबाट अर्बौंको जडीबुटी चोरीनिकासी भएर तिब्बत र भारत पुग्ने गरेको छ। त्यसका लागि अहिले दुवैतर्फका ठेकेदार/व्यापारी बिच्छ्या, हुम्ला, मुगु, डोल्पा र उत्तरी बझाङका वन क्षेत्रमै पुगेका छन्। उनीहरूले कतै खच्चड कतै घोडा त कतै मानिसलाई बोकाएर खुल्ला रूपमा जडीबुटी ओसारपसार गरिरहेका छन्। 

बझाङको काँडा गाविस काँकरकोटमा सुकाउन राखिएको जटामसी।

हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट ज्यालामा मानिस ल्याएर बझाङको काँडा–३, काँकरकोट चौरमा सात वटा पालमा सय क्वीन्टल भन्दा बढी जटामसी सुकाएको आफूले देखेको काँडाका मंगल बोहराले बताए।

केही दिन पहिले त्यहींबाट २० वटा खच्चडलाई बोकाएर कटुकी तिब्बत लगिएको काँडा–३ कै एक युवकले बताए। बझाङको सीमा सुरक्षा पोष्ट नजिक होटल गरेर बसेका हुम्लाका बहादुर लामा भन्छन्, “हरेक वर्ष यो बाटो भएर सयौं क्वीन्टल जडीबुटी तिब्बत जान्छ, रोक्ने कोही छैन।”

बझाङ सदरमुकाम चैनपुरबाट यो सीमा सुरक्षा पोष्ट पुग्न एक साता लाग्छ भने पोष्टबाट नेपाल–चीन सीमा पुग्न अर्को तीन दिन। त्यस क्षेत्रबाट चोरीनिकासी हुने खबर आए पनि भौगोलिक विकटताका कारण नियन्त्रण गर्न समस्या भएको बझ्ाङ जिल्ला वन कार्यालयका डीएफओ अशोककुमार श्रेष्ठ बताउँछन्।

रक्तचन्दन नाका
२०६८ चैतमा बझाङ प्रहरीले रिठापाटाको बारिल भन्ने ठाउँबाट तिब्बत लैजाँदै गरेको ३५ क्वीन्टल रक्तचन्दन र बाजुराका ८६ जना भरियालाई पक्राउ गर्‍यो। त्यसयता रक्तचन्दन पक्राउ परेको छैन, तर बझाङको उरैभञ्ज्याङलाई हिजोआज 'रक्तचन्दन नाका' भन्न थालिएको छ।

यो नाकाबाट रक्तचन्दन तिब्बत पठाउने काम नरोकिएको स्थानीय र बाटामा स्थायी/अस्थायी होटल चलाउनेहरू बताउँछन्।

तिब्बतको लुपु भन्ने ठाउँमा होटल चलाएका हुम्लाका एक व्यक्ति यो बाटो भएर रक्तचन्दन आउन थालेको ६/७ वर्ष भएको बताउँछन्। पोहोर रक्तचन्दन बोकेर उत्तर लागेका बाजुरा (साप्पाटा) का १२३ जना भरिया आफूले गनेको उनले बताए।

उनका अनुसार, दशैं–तिहार आसपास र चैतको अन्त्यतिर धेरै रक्तचन्दन उत्तर जान्छ। कैलाश व्यापार संघका सचिव जगत तामाङ सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाकामा कडाइ हुन थालेपछि तस्करहरूले बझाङको नाका प्रयोग गर्न थालेको हुनसक्ने बताउँछन्।

जिल्ला वन कार्यालय बाजुराका प्रमुख डीएफओ विजेन्द्र सुवेदीले भने रक्तचन्दन तस्करीको जानकारी नभएको बताए। त्यस्तै, बिच्छ्या प्रहरी चौकीका इन्चार्ज असई पीताम्बर ओझाले धेरै टाढा र विकट क्षेत्र भएकोले सीमा क्षेत्रमा हुने गतिविधिमा निगरानी गर्न मुश्किल परेको बताए।

हुम्ला, बाजुरा र बझाङ जिल्ला वन र इलाका कार्यालयहरूमा कर्मचारीको अभाव छ। जिल्ला वन कार्यालय हुम्ला डीएफओविहीन र पाँचवटा इलाका कार्यालय अधिकृतविहीन छन्। तीन रेञ्जरको दरबन्दीमा दुई जना, चार फरेस्टरमा दुई जना र १६ वनरक्षकमा १० दरबन्दी रिक्त रहेको जिल्ला वनका निमित्त प्रमुख रहेका रेञ्जर लोकजङ्ग शाही बताउँछन्। 

जिल्ला वन कार्यालय बाजुरा पनि रिक्तप्रायः छ। ९ वटा इलाका कार्यालय अधिकृतविहीन छन् भने आठ फरेस्टरमा ३ जना, तीन रेञ्जरमा एक जना मात्र छन्। डीएफओ सुवेदीले पदपूर्तिका लागि १२ पटक मन्त्रालयमा चिठी पठाउँदा पनि केही नभएको बताए।

जिल्ला वन कार्यालय बझाङमा हुनुपर्ने आठ अधिकृतमा एक जना छन् भने आठ फरेस्टरको दरबन्दीमा चार जना। आठवटै इलाका वन कार्यालय अधिकृतविहीन भएको डीएफओ श्रेष्ठले बताए।

रित्तिंदैछ भण्डार
बाजुराको अति दुर्गम बिच्छ्या गाविसवासी अहिले गाउँ सुनसान पारेर लेकका जंगल पसेका छन्, जडीबुटी संकलन गर्न। क्वाडीका अंगलाल थापाका अनुसार हिंड्न सक्नेजति सबै लेक गएकाले गाउँमा मलामी समेत नपाइने अवस्था छ।

बाजुराको बिच्छ्यामा जडीबुटी संकलन गर्न जाँदा बीच बाटोमा आराम गर्दै मुगु ह्याङ्गलु गाविस–२ का बासिन्दा।

जडीबुटी टिप्न बिच्छ्याको वनतिर हिंडेका मुगु ह्याङ्गलुका जयसिंह रोकायाले वनमा अहिले तीनहजार भन्दा बढी मान्छे रहेको अनुमान लगाए। क्वाडीमा भेटिएका उनले जडीबुटी संकलनमा उत्तरी बाजुराका बिच्छ्या, रुगिन, जुकोट, वाई, साप्पाटा, गोत्री, जगन्नाथ, दहकोट, पाण्डुसैन, कैलाशमाण्डौ, आटीचौर, मानाकोट, बाँधु, कोल्टीलगायतका गाविस र हुम्ला, मुगु, कालीकोट, बझाङका मानिस पनि बिच्छ्या पुगेको बताए।

मुगुको ह्याङ्गलु–२ का मात्र १०५ जना बिच्छ्याको जंगलमा जडीबुटी संकलन गरिरहेको सोही ठाउँकी मीना रोकायाले बताइन्। कक्षा १० मा अध्ययनरत उनका अनुसार, यो एक महीनामा एक जनाले कम्तीमा रु.४० हजारको जडीबुटी टिप्छन्। यस क्षेत्रका बासिन्दाको नगद आयको प्रमुख स्रोत जडीबुटी संकलन नै हो।

यो सिजनमा सामुदायिक र राष्ट्रिय वन पसेकामध्ये ज्यादै कमले जिल्ला वन कार्यालयबाट जडीबुटी संकलन अनुमति लिएको मुगुबाट जडीबुटी खरीद गर्न गएका ठेकेदार पदमबहादुर शाहीले बताए। उनका अनुसार, ती जडीबुटी खरीद गर्ने व्यापारी एक सयभन्दा बढी छन्। हुम्लाका कालिका, मदेना, मिवी, मुचुलगायत गाविसका लेकाली वनमा पनि अहिले धमाधम जडीबुटी संकलन भइरहेको छ।

हुम्लाको मैला गाविसका देउचे सार्कीले त्यता पनि विना अनुमति मनोमानी रूपमा जडीबुटी संकलन भइरहेको बताए। जथाभावी संकलनबाट मासिएर पहिला जस्तो जडीबुटी पाउनै छाडिएको संकलनकर्ताहरू बताउँछन्।

पछिल्लो समय बढेको फँडानी र डढेलोका कारण पनि बहुमूल्य जडीबुटी नासिंदै गएका छन्। बाजुरा, दहकोटका गंगा धामीले रोप्नु र संरक्षण गर्नुको साटो जरैसमेत उखेलेर बेच्दा जडीबुटी लोप हुन लागेको बताए।

अव्यवस्थित संकलनबाट लोप हुने अवस्था आएपछि बझाङको जिल्ला परिषद्ले दुई वर्ष अगाडि पाँचऔंले, सतुवा, कटुकी र वनलसुन संकलनमा रोक त लगाएको छ, तर नियन्त्रणमा केही काम भएको छैन।

जिल्ला वन कार्यालयका रेञ्जर विशाल लामाका अनुसार, बाजुरा, हुम्ला, मुगु, डोल्पा, बझाङमा यार्सागुम्बा, सतुवा, कटुकी, रातो च्याउ, गुच्ची च्याउ, जटामसी, सुगन्धवाल, पाँचऔंले, चिराइतो, बोझो, लसुनेलगायत ६५ प्रकारका जडीबुटी लोप हुने खतरा बढेको छ।

नौमुठे गाई पनि तस्करी 
हात मुठी पारेर नाप्दा नौमुठी अग्लो भएकाले नौमुठे नाम पाएको गाई नेपालको अछाम जिल्लामा मात्र पाइन्छ। नौमुठे गाईको गोरस अन्य गाईको भन्दा मीठो मानिन्छ।

यो गाई पनि मासुका लागि बाजुराहुँदै हुम्लाका हिल्सा र यारी नाकाबाट चीनतिर तस्करी भइरहेको छ। पशु सेवा कार्यालय बाजुराका प्रमुख सिद्धराज जोशीले अन्य गाईगोरुसँगै नौमुठे गाई पनि मासुका लागि तिब्बततिर लैजाने गरेको सुनेको बताए।

उनका अनुसार अछामका जल्पादेवी, वैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाब्ला, मष्टामाण्डौ र देवी गाविसमा नौमुठे गाई बढी पाइन्छन्। ती गाविसहरूमा अहिले ५०० जति नौमुठे गाई रहेको पशु सेवा कार्यालयको तथ्यांकले देखाउँछ।

प्रतिकृया दिनुहोस