लोडसेडिङको भुतबाट मुक्त हुनुस्: उर्जामन्त्री शर्मा
उर्जामन्त्री जनार्दन शर्माले अब देशभरबाटै लोडसेडिङ हटाउने प्रयास भइरहेको बताएका छन् ।
कास्कीको सल्दुजुरे गाविसमा निर्माण भएको २५ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै उनले दशौँ बर्षदेखि लोडसेडिङ भोग्न परेकाले अझै नागरिकलाई लोडसेडिङ हुन्छ कि भन्ने लागेको बताए ।
उनले भने, “अब देशभर नै लोडसेडिङ हट्छ, यसको भुतबाट मुक्त हुनुस् ।”
उर्जाको विकासबिना विकासका आयोजना अघि बढ्न नसक्ने भन्दै उनले ५ देखि ७ वर्षभित्र थप ५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने अवस्था रहेको बताए ।
जलविद्युत आयोजनामा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्दै उनले भने, “बिसौँ हजार विद्युत नेपालमै खपत हुन्छ, विक्रिमा समस्या छैन, ढुक्कले लगानी गर्नुस् ।”
राष्ट्रिय प्रशारणमा जोडियो २५ मेगावाट
माथिल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ ।
यही ५ पुसदेखि परीक्षणका रुपमा एउटामात्रै टर्वाइन चलाएर १२.५ मेगावाट उत्पादन भइरहेकोमा आजदेखि दुईवटै टर्बाइन चलाई २५ मेगावाट उत्पादन भइरहेको छ । उर्जामन्त्री शर्माले अर्को टर्वाईन अन गरेर आयोजनाको उद्घाटन गरेका थिए ।
आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको लेखनाथ सवस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ ।
चिनिया कम्पनी थ्री गर्जेज अन्तर्गतको चाईना ईन्टरनेशनल वाटर एण्ड ईलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई) र मादी पावर कम्पनीको संयुक्त लगानीमा उक्त आयोजना निर्माण गरिएको हो ।
चार बर्ष अघि निर्माण शुरु गरिएको उक्त आयोजना निर्माणका क्रममा बाँधक्षेत्र माथीबाट दुई पटक गएको पहिरो, भारतिय नाकाबन्दी र भुकम्पले ८ महिना लम्बिएको जनाएको
आयोजना निर्माणको अनुमति लिँदा २०६६ भदौ २१ मा विद्युत खरिद विक्री संझौता अनुसार प्रति युनिट बर्षातमा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले भुक्तानी दिने संझौता भएको थियो ।
मादी पावर कम्पनीका कार्यकारी निर्देशक विजयबाबु मल्लले आयोजना बनाउँदा मादी नदी थुनिने गरी गएको पहिरो भूकम्प र नाकाबन्दीले प्रतिमेगावाट २३ करोडबाट ३२ करोड पुगेको भन्दै नयाँ दररेट अनुसार विद्युत खरिद गर्न माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले अहिले प्रति युनिट वर्षातमा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा विद्युत गरिद गर्ने निर्णय गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा