स्याङ्जामा प्याराग्लाइडर दुर्घटना, सुडानी नागरिक घाइते
स्याङ्जामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक सुडानी नागरिक घाइते भएका छन् ।
स्याङ्जाको कालिकाकोट–३ पाटाबारीमा प्याराग्लाइडरबाट खसेर ५८ वर्षीय टनसोडान ग्रिन घाइते भएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सोलो उडानमा रहेका उनको प्याराग्लाइडर दुर्घटना भएलगत्तै हेलिकप्टरबाट उद्धार गरी मणिपाल मेडिकल कलेज ल्याइएको थियो ।
उनको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि हेलिकप्टरबाटै काठमाडौं लगिएको छ ।
कात्तिक दोस्रो साता स्याङ्जाकै स्वेरकमा प्याराग्लाइडर दुर्घटना हुँदा लेकसाइडका २५ वर्षे शैलेष पहारीको मृत्यु भएको थियो ।
स्वरेक घटना र प्याराग्लाइडिङ क्षेत्रका समस्याका विषयमा प्याराग्लाइडिङ पाइलट्स क्लबले कात्तिकमै पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमलाई ज्ञापनपत्र बुझाएको थियो ।
डिआइजी बमले प्याराग्लाइडिङ क्षेत्रमा भएका कमीकमजोरी हटाउन विशेष पहल गर्ने बताए पनि कार्यान्वयन नभएको गुनासो बढेको छ ।
युवराज श्रेष्ठ, पोखरा