रिपोर्टशुक्रवार, पौष १५, २०७३

राजधानीको कर्णाली

बच्चु विक

लगनखेल–गिम्दी सडक खण्ड। तस्वीर: बच्चु विक

दक्षिणी ललितपुरका गिम्दी, ठूलादुर्लुङ, आस्राङ, प्युटार, माल्टा र भट्टेडाँडा गाविस राजधानी नजिकै भए पनि कर्णालीका दुर्गम गाउँहरूझै विकासबाट वञ्चित छन्।

कर्णाली, सुदूरपश्चिम र तराई–मधेशले समेत सधैं सराप्छ, राजधानी काठमाडौंलाई, जसभित्र ललितपुर पनि पर्छ। त्यही ललितपुरको दक्षिणी क्षेत्र सुदूरपश्चिम, कर्णाली वा मधेश जस्तै पीडित छन्।

“हाम्रो गाविसलाई ललितपुरको कर्णाली भन्दा हुन्छ, जहाँ विकासको आशा समेत आइपुग्न सकेको छैन”, प्रशासनिक काम पर्दा जिल्ला सदरमुकाम पुग्न पूरै एकदिन हिंड्नुपर्ने बताउँदै गिम्दी–४ मगरगाउँका प्रदीप केप्छाकी भन्छन्, “राजधानी नजीक भएर पनि दुर्गमको पीडा खेपेर बसेका छौं।” 

हुन पनि, राजधानी उपत्यकाको चक्रपथबाट ६६ किलोमिटर मात्र टाढा रहेको गिम्दी पुग्न हिउँदमा बसबाट सातघण्टा लाग्छ। गत वर्षदेखि दुई वटा बस चल्न थालेको यो एकतर्फी कच्ची सडक बर्खा लागेपछि बन्द भइहाल्छ।

हिउँदे सडक गाविस कार्यालय रहेको वडा नम्बर ५ सम्म पुगेको छ, जहाँ पुग्न वडा नम्बर ८ का बासिन्दालाई पूरै ६ घण्टा लाग्छ। यो अवस्थाले ललितपुरवासी हौं भन्न पनि लाजमर्दो बनाएको कृष्ण ढोडारी बताउँछन्।

“हाम्रै क्षेत्र भएर हेटौंडा पुग्ने कान्ति राजमार्गको शिलान्यास २०१३ सालमै भएको भनिन्छ”, ढोडारी भन्छन्, “तर, कहिल्यै पर्याप्त बजेट नदिएर यो अवस्था बनाइएको छ।”

अपर्याप्त बजेट विनियोजनका कारण वर्षौं काल्चे भीरमा रोकिएको सडक गत वर्ष गिम्दी पुग्दासम्म रु.४७ करोड खर्च भएको जानकारी आफूले पाएको ढोडारीले बताए। उनका अनुसार, आफ्नै जिल्ला सदरमुकामसँग समेत जोडिन सडकले नपाइरहेका गिम्दीवासी खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य जस्ता कुरामा पनि चर्को अप्ठ्यारो खेप्दै आएका छन्।

गाविसभर खानेपानीको अभाव छ, विद्युत् पुगेको छैन। उपचारका लागि सदरमुकाम नै पुग्नुपर्छ। क्याम्पस छैन, भएको नारायणी उच्च माविमा भौतिक पूर्वाधारको अभाव छ। २०२० सालमा स्थापित यो विद्यालयमा पर्याप्त शिक्षक पनि छैनन्।

गिम्दीमा धान झार्दै किसानहरु

“गाउँमा एसएलसी गरेका विरलै भेटिन्छन्”, नारायणी उमाविका प्राचार्य अर्जुन पौडेल भन्छन्, “सात/आठ कक्षामा पढ्दै घरजम गर्ने/गराइदिने चलन हटाउन सकिएको छैन।”

४६१ घरपरिवार रहेको गिम्दी गाविसको जनसंख्या २ हजार २९९ छ। जनसंख्याको ७० प्रतिशत तामाङ र मगर समुदाय छन्। गाविस सचिव विमल कोइरालाका अनुसार, कृषिमा आधारित यहाँका ५० प्रतिशत जनसंख्या मात्र वर्षैभरि खान पुग्ने आर्थिक अवस्थाका छन्।

केही शिक्षक, प्रहरी र सैनिकबाहेक गाविसभर निजामती सेवामा कोही छैनन्। छिमेकी गाविसहरू ठूलादुर्लुङ, आस्राङ, प्युटार, माल्टा र भट्टेडाँडाको अवस्था गिम्दीको भन्दा फरक छैन।

बद्रीप्रसाद ढोडारी देशको राजधानी नजीकै भए पनि कुनै फाइदा लिन नसकेको बताउँछन्। “राजधानी नजीक भएर वाग्मतीको ढल उपहार पाएका छौं” जनक माविमा शिक्षक समेत रहेका गिम्दी गाविस–२ का बासिन्दा ढोडारी भन्छन्, “कर्णालीवासीसँग सफा नदीनाला त छन्, हामीसँग त त्यो पनि छैन।” 

उनका अनुसार, गिम्दी र यस वरपरका गाविसवासी २०५० सालसम्म वाग्मतीको पानी र माछा खान्थे। त्यसयता भने राजधानीले 'ढलमती' बनाएको वाग्मती फाँटको बीचबाट बगेर पनि काम नलाग्ने भएको छ।

वाग्मतीको पानी गाईबस्तुलाई समेत खुवाउन नमिल्ने भएको गिम्दी–५ का ज्ञानबहादुर ग्यामी बताउँछन्। उनका अनुसार, वाग्मतीको पानीले जीउभरि चिलाउने फोका उठाउँछ, सिंचाइ गर्दा पनि बालीनाली सप्रिंदैन।

 

प्रतिकृया दिनुहोस