गण्डक नहरमा चार दिन ढिलो गरी थोरै पानी
भारतीय पक्षले ४ दिन ढिलोगरी १३ पौष रातिदेखि गण्डक नहरमा पानी छोडेको छ ।
गण्डक सम्झौता अनुसार गहुँ बालीका लागि २५ डिसेम्बरदेखि ८५० क्युसेक पानी छोड्नुपर्ने भए पनि २९ डिसेम्बर रातिदेखि ५०० क्युसेक मात्रै पानी छोडिएको हो ।
रातिदेखि गण्डक नहरमा पानी आउन थालेको जानकीटोला गाविसका किसान शिव पटेलले बताए ।
राति ९ बजेदेखि भारतीय पक्षले नहरमा ५ सय क्युसेक पानी छोडेको नारायणी सिंचाई व्यवस्थापन डिभिजन वीरगञ्जका पूर्वी नहरका सुपरभाईजर हरेन्द्र पटेलले पनि जानकारी दिए ।
“सिंचाई कार्यालयले रातिदेखि नै पर्सा र बाराका किसानहरुलाई लक्षित गरी पूर्वी नहरमा पानी छोडेको छ,” उनले भने, “नहरमा पानी आएपछि किसानलाई गहुँ, उखु, मकै, तरकारी खेतिमा सिंचाई गर्न सहज हुने भएको छ ।” दुई–चार दिनपछि सम्झौता अनुसारकै ८ ५० क्युसेक पानी आउने पटेलले बताए ।
पानी कम रहुन्जले आईतबार, सोमबार, मंगलबार पर्सालाई दिने र बाँकी दिन बारालाई दिने गरि सिंचाई कार्यालयले तालिका बनाएको छ ।
०४३ सालमा आएको बाढीले नहर विगारिदिएपछि हालसम्म मर्मत नहुँदा नहरको पानी रौतहटसम्म पुग्न सकेको छैन् ।
रौतहटका किसानहरुलाई लक्षित गरी रौतहटको जमुनी खोलमा ब्यारेज निर्माणको काम भईरहेको छ । भारतीय पक्षले धानबालीका लागि वर्षेनी मे १० तारेखदेखि अक्टुबर २५ तारेखसम्म र गहुँ बालीका लागि डिसेम्बर २५ देखि मार्च २५ तारेखसम्म पानी छोड्ने सम्झौतामा उल्लेख छ । तर भारतीय पक्षले सम्झौता अनुसार नहरमा समयमै पानी नछोड्दा नेपाली किसानहरु समस्यामा पर्दै आएका छन् ।
यसवर्ष भने भारतको ईनर्वामा नहर मर्मतका कारण पानी पठाउन केहिदिन ढिलाई भएको भारतीय पक्षले जनाएको छ ।
गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३५ हजार हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य राखिएकोमा रौतहटमा पानी नपुग्ने भएकोले २८ हजार हेक्टर जमिनमा मात्रै सिंचाई हुने गरेको छ ।
नेपाल र भारतबीच १९७३ जुन ३ मा गण्डक सम्झौता भएको थियो । बाँध बाँधिएको स्थल भैसालोटलनबाट १ सय किलोमिटर डोन ब्रान्च केनल हुँदै नेपाली नहरसम्म पानी आउने गरेको छ ।
सुरेश बिडारी, वीरगञ्ज