युवा संघका नेता बुढाथोकीमाथि आक्रमण
युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथि १४ पुस राति बाँकेको कोहलपुरमा सांघातिक आक्रमण भएको छ ।
राती ८ः४५ बजे कोहलपुर–११ विद्युतरोड नजिक धारिलो हतियारले उनीमाथि आक्रमण गरिएको हो ।
स्थानीय रेष्टुराँ (वेलकम कटेज) बाट निक्लेर बाहिर राखिएको मोटरसाइकल चढ्ने क्रममा बुढाथोकीमाथि पछाडिबाट आएका व्यक्तिले गर्धनमा धारिलो हतियारले प्रहार गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
घाइते बुढाथोकीको अवस्था गम्भीर छ । उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट १४ पौष राती नै थप उपचारका लागि भारतको लखनऊ लगिएको छ ।
उनीमाथि हतियार प्रहार गर्नेमध्येका नाइके कोहलपुरकै लक्ष्मण मल्ल रहेको र आक्रमण लगत्तै उनी फरार भएको डिएसपी काफ्लेले जानकारी दिए । प्रहरीले अनुसन्धानका लागि अन्य ५ जनालाई नियन्त्रणमा लिएको। छ ।
बुढाथोकीमाथि आक्रमण हुनुको कारण भने अझै खुल्न सकेको छैन ।
“सन्तोषलाई दाइ भन्ने, सँगै स्नुकर खेल्ने मान्छे हो लक्ष्मण” डिएसपी काफ्लेले भने, “त्यसबेला पनि वेलकम कटेजबाटसँगै निस्केका रैछन्, त्यही क्रममा धारिलो हतियार प्रहार गरेको देखिन्छ ।”
यस विषयमा एमाले बाँके र युवा संघ बाँकेले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
केशव राना,बाँके