समाचारबिहिबार, १४ पौष , २०७३

संशोधन नगरी निर्वाचन गर्न नहुने मोर्चाको अडान

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने निष्कर्ष निकालेको छ । 

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने भन्दै संशोधन नहुँदासम्म निर्वाचनमा नजाने निर्णय गरेको हो । 

बैठकका बारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष विशेषचन्द्र लालले संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भए पनि मोर्चाका माग सम्बोधन हुने र आफूहरु निर्वाचनमा जानसक्ने बताए । 

बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको जानकारी दिँदै उनले भने, “मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यसका लागि हामीले लचकता अपनाएका छौँ ।” 

मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्म विपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रका बारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ । 

बैठक भोलि पनि बस्ने र भोलि नै पत्रकार सम्मलेन गरी बैठकका निर्णय सार्वजनिक गरिने लालले बताए ।

रासस

प्रतिकृया दिनुहोस