कपिलवस्तुः दुई प्रहरी हवल्दारमाथि गोली प्रहार
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डिनगरमा नेपाल प्रहरीका दुई हवल्दारमाथि गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट करिब एक किलोमिटरको दूरीमा रहेका हवल्दारद्वय कर्णबहादुर पुन र मोहन श्रेष्ठमाथि गोली प्रहार भएको हो ।
पुनको दाहिने पाखुरा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । उनीहरु दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार तीन राउण्ड फायर भएको आवाज सुनिएको थियो । कसले किन गोली प्रहार गर्यो भन्ने विवरण अझै खुल्न सकेकोे छैन ।
गोली लागेका हवल्दारद्वय खतरामुक्त रहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
झण्डिनगर नेपाल–भारत सीमा नजिक पर्ने कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गतको नाका हो ।
दीपक ज्ञवाली, बुटवल