काम खोज्दै मनाङ
- तीला भण्डारी, मनाङ
प्राकृतिक सुन्दरताका कारण चर्चित हिमालपारिको सानो जिल्ला मनाङ रोजगारीको गन्तव्य बनिरहेको छ।
चाउचाउ र नूनतेल बेच्न ३० वर्षअघि गुम्दा–५, गोरखाबाट मनाङ पुगेका तिपल गुरुङ (४६) घर फर्किएनन्। मनाङवासी बनेका उनी अहिले घर बनाउने ठेकेदारको काम गर्छन्। उनीसँगै काम गर्ने बाँकी १५ जनाको घर पनि मनाङ होइन।
लोथर, चितवनका काजीराम प्रजा (२८) पनि मनाङ आएको १० वर्ष भइसकेको छ। शुरूमा बाटो खन्न खटिएका उनी अहिले गाउँबाटै आएका सात जनासँग मिलेर घर बनाउने काममा व्यस्त छन्।
लोथरकै राजकुमार चेपाङलाई तीन वर्षअघि पहिलोपटक मनाङ आउँदा किन पो आएछु जस्तो लागेको थियो। “अहिले त रमाइलो लाग्न थालेको छ, बचत पनि भइरहेको छ”, उनी भन्छन्।
कामको खोजीमा विदेशिने नेपालीको संख्या ठूलो छ। विदेश नजानेहरू पनि ठूला शहर र बजार ताक्ने गर्छन्। तर, हिमालपारिको सुन्दर तर दुर्गम जिल्ला मनाङमा काम गर्ने अधिकांश गोरखा, धादिङ, रसुवा, चितवन, नुवाकोट मात्र होइन, राजधानी काठमाडौंबाट समेत आउने गरेका छन्।
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल, मुक्तिनाथ मन्दिर, अग्लो र भिरालो पहाडी भूगोलका कारण पर्यटक आकर्षित गर्न सफल यो जिल्ला छिमेकी जिल्लावासीका लागि पनि रोजगारीको गन्तव्य बनिरहेको छ।
मनाङवासी तथा चलचित्रकर्मी जिमी गुरुङको अनुमानमा मनाङले एक हजार भन्दा बढी बाहिरी जिल्लाका व्यक्तिलाई रोजगारी दिइरहेको छ। २ हजार २४६ वर्ग किमीमा फैलिएको यो जिल्लाको कुल जनसंख्या भने ६ हजार ५३८ मात्रै छ।
लाप्राक, गोरखाकी उर्मिला गुरुङ पनि मनाङ आएको तीन वर्ष पुग्यो। उनी श्रीमान्सँगै गिट्टी कुट्ने, बालुवा चाल्ने र बोक्ने काम गर्छिन्। दैनिक करीब रु.१ हजार कमाउँछिन्।
श्रीमान् पनि काम गर्ने भएकाले दुःख भए पनि कमाइ राम्रै भएको बताउँदै तीन छोरीकी आमा उनी भन्छिन्, “वर्षमा एक, दुईपटक गाउँ जान्छौं, अरू बेला यतै बस्छौं।”
छैनन् स्थानीय कामदार
थोचे गाविसमा गेष्ट हाउस र होटल समेत चलाइरहेका तिपल गुरुङको भनाइमा, अधिकांश मनाङवासी होटल व्यवसायमा संलग्न भएकाले उनीहरूलाई अरू काम गर्ने फुर्सद नै हुन्न।
त्यसैले खासगरी घर, गुम्बा बनाउने, कुक, वेटर, भाँडा माझने, कपडा धुने र विदेशीसँगको भरियाका रूपमा थुप्रैले काम पाइरहेका छन्। “धेरै केटाकेटी काठमाडौंमा पढ्छन्, युवा विदेशिएका छन्”, उनी भन्छन्।
आमा समूहको भवन निर्माणका लागि धारापानी गाविसको खोत्रेस्थित मर्स्याङ्दी प्रावि परिसरमा खटिएका जिल्ला बाहिरका कामदार।
मनाङमा बाहिरी जिल्लाकाले जग्गा किन्न नपाउने चलन भए पनि तिपलले मीतदिदीको माध्यमबाट २०५६ सालमै तीन आना जग्गा जोडेका थिए।
जहाँ करीब रु.४५ लाखको लगानीमा दुईतले घर समेत बनाइसकेका छन्। “यो सबै मनाङकै कमाइ हो”, उनी भन्छन्, “अहिले त भाइ र बहिनीलाई पनि यतै काममा लगाइदिएको छु”, उनी भन्छन्।
भ्राका गाविसस्थित एक होटलका कुक ओमप्रकाश पुनको घर दाङ हो। उनको अनुभवमा काम जान्ने र मिहिनेतीका लागि मनाङ राम्रो ठाउँ हो। “यार्साको मौसममा यार्सा टिप्ने र अरू बेला काम गरे राम्रो कमाइ हुन्छ”, उनी भन्छन्।
२०६९ सालदेखि बोजो गुम्बा निर्माणको ठेक्का लिएका रसुवाका चन्द्रबहादुर पिटुङसँग अहिले ४० जनाले काम गरिरहेका छन्। उनीहरू सबै रसुवा, गोरखाबाट आएका हुन्। “मिस्त्रीले मासिक रु.३० हजार र अन्य सहयोगीले रु.२४ हजार कमाउँछन्”, उनी भन्छन्।
मनाङस्थित होटल यतीमा काम गर्ने नौ जना कर्मचारीमा कोही पनि स्थानीय छैनन्। उनीहरू नुवाकोट, चितवन, गोरखा, धादिङ र काठमाडौंबाट आएका हुन्। “जिल्लामा काम गर्ने स्थानीय मान्छे नै छैनन्, बाहिरबाट नबोलाएर धरै छैन”, होटल सञ्चालक तथा पर्यटन व्यवसायी विनोद गुरुङ भन्छन्।
मनाङ सदरमुकाम चामे, टंकी मनाङ, धारापानी, ताल र खाङसारलगायतमा पर्यटकको घुइँचो लाग्छ। बाहिरबाट काम गर्न आउनेहरू पनि यिनै ठाउँमा बढी छन्। जिमी गुरुङ मनाङमा काम गर्नेमध्ये धेरै गोरखाका भएको बताउँछन्। उनका अनुसार परिवारसहित नै आउने अधिकांश कामदार जाडो शुरू भएपछि बल्ल घर फर्कन्छन्। “जाडो सकिएपछि फेरि आउँछन्”, उनी भन्छन्।